भुवनका सारथी निराजन
नायक भुवन केसी आफ्नो दुई बर्षे कार्यकाल सकेर चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट बिदा भए । साउनको ८ गते आफ्नो कार्यकाल सकेका केसीको बिदाइ कार्यक्रम साउनको १० गते आयोजना गरियो ।
सो कार्यक्रममा भुवन केसीको दुई बर्षे कार्यकालमा भएका कामहरूको विवरण उनका निजी सहयोगी निराजन गिरीले पढेर सुनाएका थिए ।
निराजनले दुई बर्ष भुवन केसीको निजी सहयोगी रुपमा चलचित्र विकास बोर्डमा काम गरे । दुई वर्षसम्म भुवन केसीले गरेका थुप्रै काममा निराजन सारथि बने ।
बिदाइ कार्यक्रममा भुवनले नीराजनको तारिफ पनि खुलेरै गरेका थिए । भुवनले आफ्नो कार्यकालमा निराजनले निकै ठूलो साथ र सहयोग गरेको भन्दै प्रशंसा समेत गरेका थिए । दुई बर्ष निजी सहयोगीको रुपमा भुवनलाई साथ दिएका निराजनले नायक अनमोल केसीको म्यानेजरको रुपमा पनि केही समय काम गरेका थिए ।
सन् २०१६ देखि मिडियामा करिअर सुरुवात गरेका गिरीले नायक अनमोल केसीको म्यानेजर हुँदै अन्य केही कलाकारहरुको समेत म्यानेजरको रुपमा काम गरेका छन् ।
निराजन भन्छन्–‘अहिले नेपालका हरेक कलाकारहरूलाई म्यानेजरको आवश्यकता छ । कलाकारहरुको बढ्दो व्यस्ततामा उहाँहरूले म्यानेजर राखेर काम गर्ने हो भने निकै सहयोग हुनेछ ।’
निराजनले अब चलचित्र विकास बोर्डमै रहेर नेपाली फिल्म क्षेत्रको विकासमा योगदान दिने योजना रहेको सुनाए ।
प्रतिक्रिया