‘यो मन त मेरो नेपाली हो’को ‘तिम्रो आँखै रसिलो’ गीत सार्वजनिक

प्रदर्शन मिति तय नभएको फिल्म ‘यो मन त मेरो नेपाली हो’को ‘तिम्रो आँखै रसिलो’ बोलको गीत रिलिज गरिएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको यो गीतमा अस्मिता अधिकारी र सबिन सुवेदीको स्वर छ । रोशन श्रेष्ठ र आयुष समाललाई फिचरिङ गरिएको यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

गीतमा खुशी कार्की, नारायण प्रधान, नरेशवीर सिंहलाई पनि फिचरिङ गरिएको छ । यो फिल्मलाई नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र अमेरिकामा खिचिएको छ । फिल्ममा भारत, मलेसिया, पोल्याण्ड, अष्ट्रिया, बेल्जियम, ट्यूनिसिया, जर्मनी र साउथ अफ्रिकाका कलाकारहरुले पनि अभिनय गरेका छन् । मित्र प्रधानको कथा र निर्देशन रहेको यो फिल्ममा ज्ञानबहादुर प्रधानको निर्माण छ ।

फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, वुद्दि तामाङ, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुबास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवारज राजवंशी लगायतका कलाकारहरुको अभिनय छ ।

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गरेको छ । सौरभ लामाको छायांकन, देव महर्जनको एक्सन रहेको फिल्ममा समिर मियाँको भीएफएक्स छ ।