‘सतीदेवी’को ‘ठुङ मार्ने प्रतियोगीता’

भदौको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘सतीदेवी’को निर्माण टिमले ‘ठुङ मार्ने’ प्रतियोगीताको घोषणा गरेको छ । निर्माण टिमले मौलिकता झल्कने एउटा समुहको फोटो सार्वजनिक गर्दै सोही थिम अनुसारको फोटो पठाउन आग्रह गरेको हो ।

फोटोमा फिल्मका मुख्य कलाकारहरु मलिका महत, श्रृजना अधिकारी, सुजीता सिवाकोटीको साथमा तीन बालकलाकारहरु हर्षिका वली, मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी घरको पीढीमा लस्करै बसेर एक अर्काको ठुङ मारिरहेका छन् । प्रतियोगीतामा सहभागी हुनका लागि परिवारका महिला सदस्यले सँगै बसेर ठुङ मार्दै गरेको फोटो खिचेर सामाजिक संजालमा ‘सतीदेवी भदौ ७ गतेबाट प्रदर्शन हुँदैछ’ भनेर क्याप्सन लेख्नुपर्नेछ ।

प्राप्त फोटोहरुमध्ये प्रथम स्थान हासिल गर्नेलाई २० हजार, दोस्रो हुनेलाई १० र तेस्रो हुनेलाई ५ हजार अनलाइनमार्फत प्रदान गरिने निर्माण कम्पनी दिलासा क्रियशनले बताएको छ । फोटो साउनको ३१ गतेसम्म पठाइसक्नुपर्नेछ ।

यो फोटो प्रतियोगीताको घोषणा भदौको ३ गते हुनेछ । फिल्मका लेखक, निर्देशक लक्ष्मण सुवेदीले तीज पर्व नजिकिरहेकाले महिलाहरुको सम्मानमा यो प्रतियोगीता आयोजना गरिएको बताए ।

रिलिज अगावै विभिन्न अवार्ड जितिसकेको यो फिल्म चर्चामा छ । फिल्ममा कुलबहादुर अधिकारी, रमेश वुढाथोकी, श्रृजना अधिकारी, सन्दिपबाबु लोहनी, सन्देश लिम्बु,  भोला सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय छ ।