परिवारको डर भयो भने काम गर्न नै सकिदैनः आँचल शर्मा

भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बर एण्ड बधु’को पहिलो गीत ‘तिमी सँग’ आइतबार सार्वजनिक भएको छ । यो गीत सार्वजनिक भएपछि नायिका आँचल शर्मा र नायक विवेक कर्मचार्यको केमेष्ट्रीको चर्चा छ । साथमा, गीतको अन्तिममा देखाइएको आँचल र विवेकको बाथटबको रोमान्समा पनि धेरैको ध्यान गएको छ । 

आँचल आफैले पनि सुरुवातमा यो दृश्यमा काम गर्न आफूले असहज महशुश गरेको बताएकी छिन् । यो बिषयमा मिडियासँग कुराकानी गर्दै आँचलले भनिन्–‘परिवारको डर भएर मलाई असहज भएको थिएनँ । परिवारको डर भयो भने काम गर्न नै सकिँदैन नी । यो त काम हो । पात्रले निर्वाह गरेको कुरा हो । तर, म आफै पनि कसरी गर्ने, के गर्ने भन्ने सोचमा थिएँ । मैले यो दृश्यलाई कसरी निकाल्न सक्छु भन्ने थियो । मैले अहिलेसम्म यस्तो दृश्यमा काम गरेको थिइनँ । यसैले म गम्भीर  थिएँ । प्रस्तुति राम्रो भयो भने दर्शकले पनि मन पराउनुहुन्छ । तर, नराम्रो भयो भने त भल्गर देखिन्छ । मलाई निर्देशक मिलन चाम्सले आत्मविश्वास दिनुभयो ।’

उनले, यस्तो खालको दृश्य गरिसकेको मान्छे क्लोज आउन सक्ने तर आफूले पहिलो पटक यस्तो दृश्यमा काम गरेकाले के गर्ने होला भनेर सोचेको तर्क गरिन् । तर, अहिले पर्दामा निकै आकर्षक रुपमा दृश्य प्रस्तुत हुँदा आँचल खुशी छिन् । 

फिल्ममा आफ्नो भूमिकाको बिषयमा उनले भनिन्–‘मेरो भूमिका एकदमै रोमान्टिक छ । एउटा ग्ल्यामर यूवति, सेक्सी छ । तर, उसको क्षमता पनि फरक छ ।’

निर्देशक मिलन चाम्सले आफूलाई यस्तो जनराको फिल्ममा काम गर्न मन लाग्ने बताए । उनले भने–‘लिलिबिली’पछि मलाई रोमान्टिक कमेडी फिल्ममा काम गर्न मन थियो । यो फिल्म निकै राम्रो बनेको छ ।’