‘नम्बरी सुन’ हेर्ने १२ जनालाई सुनको चन्द्रहार उपहार
साउनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नम्बरी सुन’को टिमले फिल्म हेर्न १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ ।
ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरे । उनले, खल्ती एपबाट टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरबाट टिकट काटन् ७ जनालाई सुनको मोतीवाला चन्द्रहार उपहार दिने घोषणा गरेका हुन् ।
उपहार लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ । फिल्मका निर्देशक राजु गिरीले झण्डै ७० बर्ष अगाडि घर–घरमा पुगेर सुनको गहना बनाउनेको कथामा यो फिल्म बनेको बताए । साथमा, फिल्ममा प्रेम, कमेडी, भावना सबै मिसिएको उनको भनाई छ । नायिका नम्रता सापकोटाले प्रेम प्राप्त गर्न संघर्षरत एक युवतीको भूमिकामा आफू देखिएको बताइन् ।
यस्तै, कलाकार विनोद न्यौपानेले फिल्ममा आफू सहायक चरित्रमा देखिएपनि दर्शकले मन पराउने विश्वास व्यक्त गरे । यो फिल्ममा गौरव पहारी, सरोज खनाल, वुद्दि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी लगायतका कलाकारको अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको यो फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन छ ।
प्रतिक्रिया