पाश्र्व गायनमा करण परियारको डेब्यू

साउनको ३२ गतेबाट पुनः रिलिजमा आउन लागेको फिल्म ‘बुलाकी’को २ वटा गीतको रेकर्डिङ गरिएको छ । यो फिल्मका लागि ‘नेपाल आइडल ५’का विजेता करण परियार र गायिका अनु चौधरीले एउटा गीतमा स्वर दिए । करणको यो पाश्र्व गायनमा डेब्यू हो ।

यस्तै, अर्को एक गीतमा गायिका समीक्षा अधिकारीले स्वर भरिन् । गीत रेकर्डिङको क्रममा करण केही नर्भस त केही उत्साहित देखिए । आफूहरूले स्वर भरेको गीतले फिल्मको व्यापारमा पनि सहयोग हुने विश्वास करण र समीक्षाको थियो । बाबुल गिरीको शब्द तथा संगीतमा तयार भएका दुबै गीत एक हप्ताको अन्तरमा रिलिज गरिने निर्माता तथा कलाकार विराज विष्टले जानकारी दिए ।

नेपाल र विदेशमा आयोजित विभिन्न महोत्सव, अवार्ड कार्यक्रममा यो फिल्मले पुरस्कार जित्दै आएको छ । गतबर्ष एक दिन मात्र रिलिजमा आएको यो फिल्मलाई लिएर दर्शकको उत्साह बेग्लै छ ।

यसैले, फिल्मलाई पुनः रिलिजमा ल्याउन लागिएको निर्माणपक्षले बताएको छ । स्वर्गीय मोती  विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा तयार भएको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, राज बहादुर सानेको कथा तथा पटकथा छ । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश वुढाथोकी, कुलद्धिप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङ लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई उपत्यकामा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।