३६ दिन लगाएर खिचियो ‘पूर्ण बहादुरको सारङ्गी’

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको निर्माणपक्षले जनाएको छ । सेभेन सिजको प्रस्तुतिमा तयार भएको यो फिल्मको पहिलो चरणको छायांकन ओखलढुंगामा गरिएको हो ।

३६ दिन लगाएर पहिलो चरणको छायांकन सकिएको निर्माणपक्षले बताएको छ । जेठको २४ गतेबाट फिल्मको छायांकन सुरु भएको थियो । अब, बाँकी छायांकन काठमाडौंमा गरिने निर्माणपक्षको भनाई छ । दोस्रो सेड्यूल दशैँपछि मात्र सुरु हुने निर्माता विनोद पौडेलको भनाई छ । निर्माता पौडेलले पहिलो चरणको छायांकन सकिएपछि आफू उत्साहित भएको बताए ।

उनले, वर्षातको समयमा निकै दुःख गरेर पहिलो चरणको छायांकन सकाएको पनि बताए । यो फिल्ममा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अन्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, वुद्दि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, जान्भी पौडेल, स्वायम् केसीको मुख्य भूमिका छ । सामाजिक कथामा निर्माण भएको यो फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन छ ।

यो फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको निर्माणपक्षले बताएको छ । विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानीमा तयार भइरहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत छ । आउँदो बर्ष मात्र यो फिल्मलाई विश्व बजारमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।