‘वर एण्ड बधु’पछि ‘माइली’मा कुसुम
मोडल कुसुम शर्मा तेस्रो फिल्ममा अनुबन्धित भएकी छिन् । म्युजिक भिडियो हुँदै फिल्ममा पाइला चालिरहेकी उनले रुना इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको फिल्म ‘माइली’ साइन गरेकी हुन् । बाबु साहेब बलामीको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा कुसुमको भूमिका के हुने भन्ने खुलाइएको छैन ।
कुसुमले साइन गरेको पहिलो फिल्म ‘सञ्जीवनी’ निर्माण नै हुन सकेन । उनले काम गरेको दोस्रो फिल्म ‘वर एण्ड बधु’ भदौको १४ गतेबाट रिलिजमा आउँदैछ ।
कुसुम अनुबन्धित भएसँगै कलाकारको लाइनअप पुरा भएको निर्माणपक्षले बताएको छ । फिल्मको शीर्ष भूमिकामा नायिका प्रियंका कार्कीले काम गर्दैछिन् । उनको साथमा फिल्ममा नायिका करिश्मा मानन्धर, गायिका कमला घिमिरे, कलाकार अंशु महर्जन, मोडल कुसुम शर्मा र रंग पत्रकार सुष्मा लामाले काम गर्ने पक्का भएको छ ।
महिला केन्द्रित कथामा बन्न लागेकाले फिल्मको मुख्य भूमिकामा महिला कलाकार मात्र देखिएका छन् । यो फिल्मले महिलाको पीडा देखाउने निर्देशक बलामीको भनाई छ । केही दिनमै छायांकनमा जान लागेको फिल्मलाई मकवानपुर, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।
प्रतिक्रिया