जहाँबाट स्टार बने, त्यही क्षेत्रको राजवल्लभले ‘मजाक’ बनाए

फिल्म ‘पर्खी बसेँ’बाट करिअर सुरुवात गरेका नायक राजवल्लभ कोइराला अहिले अमेरिकामा छन् । उनले, ८ बर्षपछि फिल्म ‘एक्टर’मा अभिनय गरे । यो फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन । 

उनै, राजवल्लभ फिल्मको छायांकनको क्रममा केही समय अगाडि नेपाल आएका थिए । सोही क्रममा उनले दिएको एक अन्तरवार्ता अहिले ट्रोल बनिरहेको छ । 

नेपाली फिल्म क्षेत्रले विस्तारै फड्को मारिरहेको कुरा राजवल्लभलाई पनि थाहा छ । उनले, काम गरेको पहिलो फिल्म ‘पर्खि बसेँ ब्लकबस्टर भएको थियो । यही फिल्मबाट करिअर अगाडि बढाएका उनी आज अमेरिकामा पुग्नु, त्यहाँ स्थापित भएर नयाँ जीवन जिउनुको पछाडि फिल्म क्षेत्रको ठूलो भूमिका छ । तर, सोही फिल्म क्षेत्रलाई उनले मजाक बनाउनु बनाएका छन् । 

एउटा कुरा के हो भने, हिजोका कथावस्तु आज चल्दैनन् । आजका कथावस्तु अबको १० बर्षपछि चल्दैनन् । तर, राजवल्लभले आफ्नो संघर्षको समयमा काम गर्दाका फिल्म र फिल्मीकर्मीमाथि मजाक बनाएका छन् । 

उनले अन्तवार्तामा भनेका छन्–‘त्यो बेलाको नेपाली फिल्म बबाल थिएन । आलोचना गर्ने मानिस थिएन के । कहिलेकाही जाँड खाएपछि श्रीमान्ले श्रीमतीलाई अंग्रेजी सिकाए जस्तो । नेपाली फिल्मको त्यो समय भनेको आलोचना गर्ने मानिस नभएर हो । गल्ती पनि स्विकार कसैले गरेनन् ।’

उनले, उक्त समयमा ‘कपी गरेर नेपाली फिल्म’ बनेको भन्दै मजाक उडाए । यतिमात्र होइन उनले एउटा फिल्मको प्रसंग उल्लेख गर्दै भने–‘एउटा फिल्मको त स्क्रिप्ट नै थिएन । ‘दिवाना’ भन्ने फिल्मको सीडी दिएर मलाई त ऋषि कपुर बन्न पो अफर गर्यो । सायद, त्यो मेरो दोस्रो तेस्रो फिल्म थियो होला ।’

उनले, आफ्नो ब्लकबस्टर फिल्म ‘पर्खि बसेँ’को समेत मजाक बनाए । भने–‘मलाई गितार बजाउन आउँदैनथ्यो । पहिलो दृश्यमै गितार बजाउनुपर्ने । मलाई एउटाले पनि गितार बजाउँदा औँला परिवर्तन गर भनेनन् । मलाई भनिदिएको भए औँला त चलाउँथे होला नी । पछि मेरो म्युजिसियन साथीहरू त्यो दृश्य देखेर हाँसे । सहायक निर्देशकलाई पनि आउनु पर्यो नी यसो गर भन्नका लागि त । व्यवहारिक हुनु पर्यो नी ।’

आफूले ८ वर्षसम्म फिल्म नगर्नुको कारणबारे पनि उनको भनाई अर्कै छ । उनले भनेका छन्–‘फिल्म बनाउने भनेर मात्र हुन्छ । स्क्रिप्ट मात्र तयार भएर भयो त । पैसा हुनु पर्यो । सबै कुरा मिल्न पर्यो नी ।’

अमेरिका पुगेपछि राजवल्लभले ८ बर्ष फिल्म गरेनन् । नेपाली फिल्ममा काम गर्दा गर्दै उनी हलिउड फिल्म ‘हाइवे टू धम्पुस’मा काम गर्ने भन्दै अमेरिका हानिएका थिए । यसपछि, उनी उतै बसे । तर, उनले ८ बर्षपछि आएर आफूलाई स्थापित बनाएको फिल्म क्षेत्र, फिल्मीकर्मीको मजाक बनाएका छन् । अहिले सामाजिक संजालमा राजवल्लभको यो शैलीको चर्को आलोचना भइरहेको छ ।