‘घरज्वाइँ’माथि प्रदर्शकको विश्वास, सुखद ओपनिङको अपेक्षा

वैशाखमा रिलिज भएको फिल्म ‘मनसरा’पछि नायक दयाहाङ राई र नायिका मिरुना मगर अभिनित नयाँ फिल्म ‘घर ज्वाइँ’ भोलिबाट रिलिजमा आउँदैछ । 

यो फिल्म यी दुई कलाकारका लागि चल्नुपर्ने दबाब छ । किनकी, लगातार ६ वटा फिल्ममा काम गरेका दया र मिरुनाको अब नयाँ फिल्म छैन । यी दुईका अनुसार, केही फिल्मका लागि कुरा भएपनि संझौता भइसकेको छैन । यसैले, दया र मिरुनाको जोडीको नयाँ फिल्म कहिले आउँछ भन्न सकिने अवस्था छैन । 

दयाको अब फिल्म ‘एन्जिला’ रिलिजको क्रममा छ, जुन माघको ११ गतेबाट दर्शकमाझ आउनेछ । यसअघि दयाको कुनै पनि फिल्म रिलिजको सेड्यूल छैन । नायिका मिरुना मगरको पनि फिल्म ‘उनको स्विटर’को छायांकन भइरहेको छ । यो फिल्ममा उनी विपिन कार्कीसँग देखिदैछिन् ।

यसैले पनि यी दुई कलाकारका लागि यो फिल्म चल्नुपर्ने देखिन्छ । यो फिल्ममाथि प्रदर्शकको विश्वास पनि उच्च देखिएको छ । साउथ फिल्म ‘कल्की’को तेस्रो सातामा वर्चस्व उस्तै रहँदा पनि यो फिल्मले शोज राम्रो पाएको छ । 

फिल्मलाई क्यूएफएक्स चेन, वान सिनेमाज्, बीग मुभिज, एफक्युब, आइएनआइ लगायतका मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । 
अनिल बुढा मगर निर्देशित यो फिल्ममा जनक घर्ती मगरको लगानी छ । फिल्मले पाएको शोज अनुसार व्यापार भएको खण्डमा, यसले सुखद ओपनिङ गर्नेछ ।