‘गुन्यो चोलो’मा नाजिरको यस्तो अवतार, कार्तिक ९ बाट रिलिजमा आउने
फिल्म ‘अगस्त्य’का लागि नाजिरले २० केजी तौल बढाए । तर, यो फिल्म निर्माण अगाडि नाजिरले फिल्म ‘गुन्यो चोलो’मा काम गरेका थिए । यो फिल्मका लागि नाजिरले आफ्नो तौल मज्जाले घटाएका थिए । एउटा फिल्मका लागि घटाएको तौल उनले अर्को फिल्मका लागि बढाए ।
बिहिबार फिल्म ‘गुन्यो चोलो’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो फिल्मलाई अब कात्तिकको ९ गते अर्थात अक्टुबर २५ तारिखबाट विश्वव्यापी रुपमा रिलिज गरिनेछ ।
सार्वजनिक पोस्टरमा नाजिरको ट्रान्सवुमन लुक्स देख्न सकिन्छ । यो फिल्मका लागि नाजिरले १६ केजी तौल घटाएका थिए ।
नाजिरले किन आफू भर्सटायल कलाकार हुँ भन्ने पनि प्रमाणित गरेका छन् । पहेलो रंगको वान पिस लगाएका नाजिरको हातमा हिल्स र नक्कली कपाल छ । शरीरमा चोटको निशाना, नाकमा नथिया, कानमा झुम्का लगाएका नाजिरको लुक्सले पनि सिंगो फिल्म बोलेको छ । समुन्द्र भट्ट यो फिल्मकी निर्देशक हुन् । यो फिल्मका लागि आफूले निलहिरा समाज र मितिनी नेपालसँग परामर्श गरेको समुन्द्र बताउँछिन् ।
धेरै खोज र अनुसन्धानपछि यो फिल्मको निर्माण गरिएको उनले बताइन् । अमेरिकी कम्पनी भिजन इन्टरटेन्मेन्ट र दि स्काई ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले पारलंङ्गिताको कथा भन्छ ।
फिल्ममा समुन्द्र र नाजिरको पटकथा छ । फिल्ममा संचिता लुइटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ, विशाल पहारीको पनि मुख्य भूमिका छ । फिल्ममा आकाश बुढाथोकी र भि भन्से जानुबोनको लगानी छ ।
फिल्मका कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् । अनुपम श्रेष्ठ फिल्मका सहयोगी निर्माता हुन् । आलोक शुक्लाको छायांकन रहेको यो फिल्मले दर्शकको साथ पाउने विश्वास नाजिरको छ ।
प्रतिक्रिया