वर्षालाई ‘छक्का पन्जा ५’मा हाईसन्चो, ‘मोदीबेनी’ चलाउनुपर्ने दबाब

नायिका वर्षा सिवाकोटीका लागि यो बर्ष सुखद बन्न सक्छ । किनकी, उनले अभिनय गरेका दुई फिल्म यो बर्ष रिलिज हुँदैछन् । 

साउनको १८ गतेबाट उनले अभिनय गरेको फिल्म ‘मोदीबेनी’ रिलिजमा आउँदैछ । यो फिल्ममा वर्षाको साथमा नायिका रेजिना उप्रेती, कलाकार सरोज खनाल चिनिएका अनुहार हुन् । फिल्मका मुख्य नायक अमरप्रताप श्रेष्ठदेखि निर्देशक, निर्माता नयाँ छन् । फिल्मको निर्माणपक्षले पनि वर्षालाई नै प्रमोसनमा अगाडि ल्याएको छ । 

यो फिल्म चलेको खण्डमा वर्षालाई फाइदा हुनेछ । किनकी, यो फिल्म चल्दा उनको नाम सर्वाधिक अगाडि आउनेछ । फिल्मको फस्टलुक र एउटा गीत रिलिजमा आइसकेको छ, जहाँ वर्षा नै हाइलाइटमा छन् । 

यो फिल्म रिलिज भएको दुई महिनापछि वर्षाको मुख्य भूमिका रहेको अर्को फिल्म ‘छक्का पन्जा ५’ रिलिजमा आउँदैछ । यो फिल्मबाट भने वर्षालाई हाइसन्चो नै छ । किनभने, यो फिल्म चलाउनका लागि वर्षाले ‘मोदीबेनी’मा जस्तो मिहिनेत गर्नुपर्दैन । 

दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेको टिमले बनाइरहेको यो फिल्मले बम्पर व्यापार गर्नेमा दुईमत छैन । फिल्मले व्यापारिक रुपमा कुन आँकडा छुन्छ भन्ने कौतुहलता मात्र दर्शक र फिल्मीकर्मीलाई हुनेछ । यो फिल्म चल्दा वर्षाको नाममा ब्लकबस्टर फिल्म पर्नेछ । तर, यो फिल्ममा वर्षाको स्टारडमको भन्दा पनि अभिनयको चर्चा बढी हुने निश्चित छ । 

‘नाई नभन्नु ल २’बाट करिअर सुरु गरेकी वर्षा अझै पनि बलियो नाम बनिसकेकी छैनन् । उनले फिल्ममा काम पाइरहेकी छिन् । तर, उनलाई आफ्नो स्थान बलियो बनाउनका लागि अझै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

यसका लागि, उनको सोलो फिल्मले व्यापारिक रुपमा सफलता हात पार्न जरुरी छ । तर, यो बर्ष वर्षाका लागि भने सुखद हुने देखिन्छ ।