मिरुनाको तर्क–‘पहिरनले बोल्ड र साधारण भन्ने हुँदैन, गाउँलेको परिभाषा के हो ?’

नायिका मिरुना मगरले नायक दयाहाङ राईसँग मात्र ६ वटा फिल्ममा काम गरिन् । दया र मिरुनाले काम गरेको फिल्म ‘घरज्वाइँ’ असारको २८ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्ममा मिरुनाले मगर समुदायको प्रतिनिधित्व गर्ने एक युवतीको भूमिकामा आफूलाई उभ्याएकी छिन् । 

फिल्म ‘रोज’मा नायक प्रदीप खड्कासँग काम गर्दा मिरुनाको पहिरन बेग्लै थियो । अहिले दयासँग लगातार फिल्ममा काम गर्दा उनले फिल्मी पर्दामा लगाउने पहिरन बेग्लै छ । मिरुनालाई अहिले दर्शकले ‘गाउँले पहिरन’मा देखिएको भन्दै प्रतिक्रिया दिन्छन् । मिडियामा पनि मिरुनालाई ‘गाउँले भूमिका’मा भन्ने शीर्षकमा ढालिन्छ । तर, मिरुना यी कुरामा सहमत छैनन् । 

मेरो फिल्मसँग कुरा गर्दै मिरुनाले भनिन्–‘पहिला रंगीचंगी पहिरन लगाएर डाँडाकाँडामा नाच्दा मानिसहरूले आधुनिक नायिका भन्नुहुन्थ्यो । अहिले मलाई गाउँले नायिका भनेर धेरै  प्रतिक्रिया आउँछ ।’

मिरुना अगाडि भन्छिन्–‘गाउँलेको परिभाषा के हो ? मैले मगर गाउँमा गएर काम गर्दा छुट्टै अनुभव गरेको हुन्छु । केही समय अगाडि थारी गाउँमा गएर काम गरेँ । यसैले, हामीले हाम्रो दृष्टिकोण परिवर्तन गर्नुपर्छ । एक जना कलाकार भएको नाताले म धेरै ठाउँमा काम गर्दा फरक देख्छु । तर, दर्शकले हेर्दा एउटै देखेको हुनसक्छ ।’

मिरुनाले अगाडि भनिन्–‘बोल्ड भनेको के हो ? लूगाले बोल्ड भन्ने हुँदैन । लूगा त हामीलाई जे सहज लाग्छ, त्यही लगाउने हो । कसैले बोल्ड लूगा लगाएर आउनु भन्दा तपाइले अरु नै लूगा लगाएर जानु भयो भने त्यो झनै बोल्ड हो । यसैले, हामी दिमागले बोल्ड हुन आवश्यक छ ।’