खाली बस्छन् कलाकार तर भन्छन्–‘अफर त आएको हो तर स्क्रिप्ट नै चित्त वुझेन’

फिल्म ‘ईश्वर’बाट ५ बर्षपछि कमब्याक गरिरहेकी नायिका अनु शाहले केही दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा भनिन्–‘मलाई फिल्मको अफर नआएको भने होइन, तर स्क्रिप्ट नै चित्त बुझेन ।’ अनुले ‘ईश्वर’ फिल्मको स्क्रिप्ट चित्त बुझेपछि काम गरेको तर्क गरिन् । अब, उनलाई चित्त बुझेको स्क्रिप्ट कस्तो छ भन्ने जान्नका लागि साउन ११ गते फिल्म नै हेर्नुपर्छ । 

विशेषगरि, कलाकारहरूले केही बर्ष फिल्म नगर्दा मिडियामा दिने जवाफ यही नै हो । आफूलाई अफर आएकै छैन भनेर कुनै समय नायिका वर्षा राउतले मात्र बोलेकी थिइन् । अरु, कलाकारहरूले फिल्मको अफर नआएको कुरा स्विकार नै गर्दैनन् । बरु, अफर आएको तर स्क्रिप्ट र आफ्नो भूमिका चित्त नवुझेकाले नगरेको भन्ने रेडिमेट जवाफ दिन्छन् । 

अब, ९ बर्षपछि फिल्मको पर्दामा फर्किन लागेकी नायिका रेजिना उप्रेतीको जवाफ पनि अनु शाहको जस्तै छ । उनले, फिल्म ‘मोदीबेनी’बाट कमब्याकको तयारी गरेकी छिन् । यो फिल्मका उनको भूमिका के हो भन्ने खुलाइएको छैन । फिल्मको निर्माणपक्षले अहिले पनि नायिका वर्षा सिवाकोटी र नव–कलाकार अमर प्रताप श्रेष्ठलाई नै प्रमोशन गरिरहेको छ । 

रेजिनाले ९ वर्षसम्म फिल्ममा काम नगर्नुको कारणबारे भनिन्–‘मेरो मनमा कलाकारिता सधैं छ । काम गर्नुपर्छ भन्ने लागेको पनि हो । फिल्मको अफर नआएको पनि होइन । तर, टिम र स्क्रिप्ट नै चित्त नवुझेपछि गरिनँ ।’  उनले ‘मोदीबेनी’को स्क्रिप्ट र टिमले आफूलाई तानेको तर्क गरिन् । 

यस्तो बोली अनु र रेजिनाको  मात्र होइन, अरु कलाकारहरूबाट पनि सुनिन्छ । तर, उनीहरुले लामो समयपछि काम गरेका फिल्म हेरेपछि दर्शकले नाक खुम्च्याउने गरेका छन् । अनु र रेजिनाले कमब्याक गरेको फिल्मबाट दर्शकले दिने प्रतिक्रियाका लागि केही हप्ता अझै पर्खिनुपर्छ ।