हङकङकमा दर्शकमाझ अनमोल र जसिता

नेपालमा राम्रो व्यापार गरेको फिल्म ‘फर्की फर्की’को विदेशमा पनि शोहरु आयोजना भइरहेको छ । नायक अनमोल केसी केही हप्ता अगाडि जापान पुगेर फर्किए । 

उनै, अनमोल फिल्मको प्रिमियरका लागि हङकङ पुगेका छन् । नायिका जसिता गुरुङको साथमा अनमोल शनिबार हङकङ पुगेका हुन् । आइतबार बेलुकी हङकङमा यो फिल्मको भव्य प्रिमियर आयोजना भयो । 

प्रिमियर समारोहमा फिल्मका निर्देशक सुयोग गुरुङ, नायक केसी, नायिका गुरुङको साथमा नव–नायिका समृद्धी अर्याल पनि सहभागी भइन् । 

एक हजार सिट क्षमताको हलमा दर्शकको उल्लेख्य उपस्थितिमा फिल्मको प्रिमियर भएको निर्देशक गुरुङले जानकारी दिए । 

हङकङका दर्शकहरुबाट पाएको न्यानो मायाले आफू निकै खुशी भएको नायक अनमोल केसीले बताए । 

अनमोल, जसिता, समृद्धी र सुयोग हलमा प्रवेश गर्दा दर्शकले हुटिङ गर्दै स्वागत गरेका थिए । उनीहरुले दर्शकलाई निहुरिएर अभिवादन गरे । 

यो फिल्मले ओभरसिजमा पनि निकै राम्रो कमाई गर्यो । नायक केसीका यसअघिका फिल्मले ओभरसिजमा खासै राम्रो कमाई गरेका थिएनन् ।

तर, फिल्म ‘फर्की फर्की’बाट भने अनमोलले ओभरसिज बजारमा पनि दरिलो उपस्थिति जनाएका छन् । 

अनमोल, जसिता र सुयोग शनिबार नेपाल फर्किनेछन् । यसपछि, उनीहरू फिल्म ‘जेरी अन टप’को छायांकनमा व्यस्त हुनेछन् ।