आँचललाई भ्याई नभ्याई

फिल्म रिलिज, विदेश यात्रा र छायांकनको समय एकसाथ परेपछि नायिका आँचल शर्मालाई समस्या भएको छ । 

अहिलेकी व्यस्त नायिका आँचलको नयाँ फिल्म ‘जेरीः अन टप’को छायांकन साउनको दोस्रो साताबाट सुरु हुँदैछ । यो फिल्मको पहिलो चरणको छायांकन सकेर आँचल अमेरिका जाने तयारीमा छिन् । 

यता, आँचलको अर्को फिल्म ‘पिताम्बर’को छायांकन भदौको १ गतेबाट सुरु गर्ने योजनामा निर्माता तथा निर्देशक कृषा चौलागाईं छिन् । आँचलले यो फिल्मका लागि पनि समय दिनुपर्नेछ । 

फेरि, आँचलले अभिनय गरेको फिल्म ‘वर एण्ड बधु’को रिलिज मिति समेत तय गरिएको छ । यो फिल्म भदौको १४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । फिल्मको प्रचारमा समेत आँचल सहभागी हुनुपर्नेछ । किनकी, यो फिल्म चलाउनुपर्ने अभिभारा पनि आँचलको काँधमा छ । 

यसरीहेर्दा, यी नायिकालाई फिल्मको चापसँगै दौडधूप पनि निकै हुने देखिन्छ । अब, आँचलले यी सबै कुरामा समय कसरी व्यवस्थापन गर्ने हुन् हेर्न बाँकी छ ।