‘उनको स्विटर’को सेटमा विपिन बिरामी, प्रेसर हाई भएपछि काठमाडौं ल्याइयो

नायक विपिन कार्की बिरामी परेपछि उनलाई काठमाडौं ल्याइएको छ । अमेरिकामा फिल्म ‘तेल भिसा’को छायांकन सकेर फर्किएका विपिन अर्को फिल्म ‘उनको स्विटर’मा जोडिएका थिए । 

यो फिल्मको छायांकन पाँचथरको साधुटारमा भइरहेको थियो । तर, सेटमा जोडिएको एक सातापछि विपिनको ब्लड प्रेसर हाई भएको थियो । उनको प्रेसर कम नै नभएपछि निर्माण टिमले नै उनलाई काठमाडौं ल्याएको हो । 

फिल्मका निर्देशक नबिन चौहानले पनि विपिनको प्रेसर हाई भएपछि काठमाडौं लगिएको बताए । विपिनले आज डाक्टरसँग समय लिएका छन् । 

विपिन कार्कीको उपचारका लागि अब कति समय लाग्छ पक्का छैन । निर्माण टिमले भने विपिन बाहेकका दृश्यको छायांकन गरिरहेको छ ।

निर्देशक चौहानले मेरो फिल्मसँग भने–‘मान्छेको स्वास्थ्य भन्दा ठूलो कुरा त अरु केही पनि होइन । विपिनजीको प्रेसर हाई भई नै रह्यो । कन्ट्रोलमा नआएपछि उहाँलाई काठमाडौं पठाइएको हो । अहिले पनि हामी छायांकनमा नै छौं । उहाँलाई पनि पर्खिन्छौं ।’

यो फिल्ममा विपिनको जोडीको रुपमा नायिका मिरुना मगरले काम गरिरहेकी छिन् । फिल्मको छायांकन ३ साता अगाडि सुरु भएको हो ।