‘ह्रस्व दीर्घ’को चौथो चरणको छायांकन सुरु, ‘गजनी र पुष्पा’का भिलेन नेपालमा

चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्म ‘ह्रस्व दीर्घ’को चौथो चरणको छायांकन सुरु भएको छ । अबको ४ दिनसम्म यो फिल्मको छायांकन काठमाडौं र ललितपुरमा हुनेछ । 

निर्देशक पन्तका अनुसार, यो फिल्मको चौथो र अन्तिम सेड्यूल हो । ४ दिनमा फिल्मको छायांकन सकिएपछि पोष्ट प्रोडक्शन र प्रचारको काममा अगाडि बढ्ने उनको भनाई छ । 

यो फिल्मको छायांकनका लागि भारतीय कलाकारहरू प्रदीप राउत, सुनिल वर्मा नेपाल आएका छन् । भारतीय कलाकारहरू नेपाल आएको समयमा उनीहरुले पत्रकारहरूसँग पनि कुराकानी गरे । 

कलाकार प्रदीप राउतले फिल्ममा आफू नीताको बाबुको भूमिकामा फिल्ममा देखिएको बताए । उनले, नेपाली फिल्मको मेकिङ, निर्माण र कलाकार तथा प्राविधिकहरूको कामले आफू प्रभावित भएको बताए । 

यस्तै, फिल्म ‘पुष्पा’मा भिलेनको रुपमा देखिएपछि चर्चा पाएका कलाकार सुनिल बर्माले नेपाली फिल्ममा काम गर्न पाउँदा निकै खुशी लागेको बताए । स्क्रिप्ट अनुसार फिल्म पनि उत्कृष्ट बन्ने बताउँदै उनले यो फिल्मले नेपाली र भारतीय फिल्म उद्योगलाई जोड्ने बताए । 

नीता फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । फिल्ममा नायिका नीता ढुंगाना, कलाकार हरिहर अधिकारी, प्रदीप राउत, सुनील बर्माका साथमा चर्चित भारतीय कलाकार ब्रम्मानन्दम, अली, कविर सिंह, दुहानको अभिनय छ । यस्तै, फिल्ममा संचिता लुइँटेल, विपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रविन्द्र झा, आदर्श मिश्र, वुद्दि तामाङ, किरण केसी लगायतका कलाकारको अभिनय छ । 

हरिहर अधिकारीको कथा रहेको फिल्ममा प्रतीक पौडेल, हरिहर अधिकारी र चन्द्र पन्तको पटकथा तथा संवाद छ । फिल्मलाई बलिउडका चर्चित छायांकार कवीरलालले खिचिरहेका छन् । यो फिल्मलाई नेपाली, हिन्दी र तेलुगु भाषामा रिलिज गर्ने तयारी समेत गरिएको छ । यो फिल्म असोजको ३ गतेबाट रिलिजमा आउँदैछ ।