साउन ४ बाट भदौ ७ मा पुग्यो ‘सतीदेवी’को प्रदर्शन

लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति पोष्टपोन्ड गरिएको छ । यो फिल्मलाई साउन ४ गते रिलिज गर्ने भन्दै निर्माणपक्षले प्रचारलाई पनि अगाडि बढाएको थियो ।

तर, प्राविधिक कारण देखाउँदै फिल्मको प्रदर्शन मिति पोष्टपोन्ड गरिएको छ । 

अब, यो फिल्मलाई भदौको ७ गतेबाट देशभरका हलमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । यो मितिमा हालसम्म अन्य कुनै पनि नेपाली र विदेशी फिल्मले रिलिज पक्का गरेका छैनन् । उसो त, ‘सतीदेवी’ साउनको ४ गते पनि सोलो रिलिज नै हुने पक्का थियो । 

यो फिल्ममा नायिका मलिका महत्त केन्द्रीय भूमिकामा छिन् । मलिकाको करिअरका लागि पनि यो फिल्म महत्वपूर्ण मानिएको छ ।

यो फिल्मले छोरीको कथा भन्छ । एउटा परिवारमा छोराको आशामा धेरै छोरी जन्मिएको र त्यसबाट उत्पन्न भएको विभिन्न घटनाक्रमलाई फिल्ममा देखाइएको छ ।