साउन ३२ मा ‘बुलाकी’ रि–रिलिज गरिने

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘बुलाकी’ गतबर्षको वैशाख १ गते रिलिज भयो । तर, सोही दिन रिलिजमा आएको अर्को फिल्म ‘जारी’का कारण यो फिल्म चेपुवामा पर्यो । निर्माताले शोज नपाएको भन्दै फिल्म रिलिजको दोस्रो दिनमै हलबाट उतारे । 

यसपछि, यो फिल्मले विभिन्न महोत्सवमा अवार्ड जित्दै आएको छ । फिल्मको कथा, पटकथा, संवाद, निर्देशन, अभिनयको पनि प्रशंसा हुँदै आएको छ । तर, ठूलो वर्गका दर्शकले भने यो फिल्म हेर्न  पाएका थिएनन् । 

अब, यो फिल्मलाई पुनः रिलिज गरिने भएको छ । फिल्मका निर्माता तथा कलाकार विराज विष्टका अनुसार, यो फिल्मलाई साउनको ३२ गतेबाट पुनः रिलिज गर्न लागिएको हो । 

टोपेन्द्र विष्टको लगानी रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश वुढाथोकी लगायतका कलाकारको अभिनय छ ।