५ बर्षसम्म अनुले किन गरिनन् फिल्ममा काम ?

पछिल्लो फिल्म ‘पसिना’मा काम गरेपछि नायिका अनु शाहले नयाँ फिल्ममा काम गरेकी थिइनन् । उनले, करिब ५ बर्ष आफ्नै युट्युब च्यानलमा प्रेमी सविन श्रेष्ठसँग भ्लग बनाइन् । म्युजिक भिडियोमा पनि उनी व्यस्त देखिइन् । तर, फिल्ममा भने उनको उपस्थिती शुन्य जस्तै थियो । तर, साउनको ११ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ईश्वर’बाट उनी ठूलो पर्दामा कमब्याक गर्दैछिन् । 

यही फिल्मको पत्रकार सम्मेलनमा अनुले फिल्म पाउन कठिन हुन थालेको तर्क गरिन् । उनले भनिन्–‘अहिले निरन्तर फिल्म पाउन नै कठिन छ । मैलै ईश्वर पनि ४–५ बर्षको अन्तरमा गरेकी हुँ । अफर नै नआएको भने होइन । तर, विभिन्न कारणले फिल्ममा काम गर्न सकिनँ ।’

उनले, कोरोनापछि फिल्म नै कम बन्न थालेको प्रतिक्रिया दिइन् । भनिन्–‘कोरोना अगाडि मलाई फिल्मको अफर आइरहेको थियो । तर, कोरोनापछि निर्मातासँग पनि पैसा नभएर होला, फिल्म नै कम बनिरहेका छन् । म्युजिक भिडियो पनि धेरै नै कम बनेका छन् ।’

अनु राम्रो काम गर्न चाहन्थिन् । तर, यही इच्छाले उनलाई गाह्रो बनायो । कोरोनापछि फिल्म नै कम बन्न थालेकाले कलाकारहरुलाई पनि काम एकदमै कम मिलेको उनको भनाई छ ।