विकास बोर्डको २४ औं बार्षिकोत्सवमा के–के भयो ?

चलचित्र विकास बोर्डको २४ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार बेलुकी चलचित्र विकास बोर्डको हलमा भव्य कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सवको सम्पन्न गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाललाई विश्वभर चिनाउने प्रभावकारी माध्यम फिल्म नै रहेको बताइन् । उनले, फिल्मलाई आम संचारको सशक्त माध्यमको रुपमा व्याख्या गरिन् । साथै, उनले चलचित्र ऐनलाई चाडो भन्दा चाडो पास गर्ने प्रतिबद्धता पनि व्यक्ति गरिन् । उनले, आफू र आफ्नो मन्त्रालय सधै फिल्म क्षेत्रसँग रहेको बताएकी थिइन् । 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो कार्यकाल सकिने केही दिन मात्र बाँकी रहेको बताउँदै निरन्तर रुपमा चलचित्र क्षेत्रकै हितका लागि काम गर्ने बताए । उनले, आफ्नो २ बर्षे कार्यकालमा केही उपलब्धीपूर्ण काम गरेको भन्दै आगामी बजेट पनि फिल्म क्षेत्रले स्विकार्ने खालको ल्याउने प्रतिबद्धता जनाए । 

चलचित्र विकास बोर्डले आफ्नो कार्यकालमा प्रविधिलाई सँगै लिएर हिडेको भुवनको भनाई थियो । उनले, चलचित्र ऐन वर्तमान संचार मन्त्री र सचिवकै पालामा पास हुने विश्वास समेत व्यक्त गरे । साथै, उनले चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनुपर्ने धारणा राखेका थिए । 

कार्यक्रममा चलचित्र विकास बोर्डको आगामी कार्ययोजनाको बिषयमा पनि जानकारी गराइएको थियो । चलचित्र विकास बोर्डले सिंगल थिएटरहरुको उन्नतीका लागि काम गर्ने र बजेट छुट्याउने बताएको छ । 

कार्यक्रममा बोर्डमा बर्षभरी मिहिनेत गरेका कर्मचारीहरुलाई समेत सम्मान गरियो । साथै, चलचित्र विकास बोर्डले आयोजना गरेको ‘छोटो फिल्म प्रतिस्पर्धा’का विजेतालाई समेत पुरस्कार प्रदान गरियो । ‘सर्ट फिल्म कम्पिटिसन’मा ‘अनाहद’ प्रथम, ‘सिलावाल’ दोस्रो र ‘म कमरेड’ तेस्रो भएका थिए । ‘सर्ट फिल्म कम्पिटिसन’मा राजु केसीको संयोजकत्वमा ३ सदस्यीय निर्णायक मण्डल थियो । जसमा निर्देशक सुरेन्द्र पौडेल र रंग पत्रकार विजय सुवेदी रहेका थिए । 

कार्यक्रममा विकास बोर्डले बार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘चलचित्र मञ्च’ पुस्तक पनि सार्वजनिक गरिएको थियो । यस्तै, चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मीहरुको अभिलेख समेत राख्न सुरु गरेको बताएको छ । 

चलचित्र विकास बोर्डले हरेक बर्षको असार १६ गतेलाई ‘बार्षिकोत्सव’को रुपमा मनाउँदै आएको छ । कार्यक्रममा चलचित्र विकास बोर्डको नयाँ लोगो समेत अनावरण गरिएको थियो ।