‘१२ गाउँ’मा समीरको एक्सन अवतार, दशैंमा रिलिज पक्का

फिल्म ‘१२ गाउँ’को प्रदर्शन मिति तय गर्दै फस्टलुक सार्वजनिक गरिएको छ । नायक विराज भट्टको निर्देशनमा तयार भएको यो फिल्मलाई दशैंमा रिलिज गर्ने घोषणा गरिएको छ । तर, दशैंमा कुन दिनबाट फिल्म रिलिज गर्ने पक्का गरिएको छैन । 

यो फिल्मबाट विराजका छोरा नायक समीर भट्टले डेब्यू गर्दैछन् । फिल्मको फस्टलुकमा उनलाई नै प्रस्तुत गरिएको छ । 

यो फिल्मको हाल धमाधम छायांकन भइरहेको छ । निर्देशक तथा नायक विराजका अनुसार अबको १० दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिनेछ ।

निर्देशक भट्टले फिल्मको एउटा एक्सनको छायांकन भारतको मुम्बईमा गर्ने जानकारी दिए । यो फिल्ममा मोडलद्धय न्यान्सी खड्का र सनिसा भट्टराईले काम गरिरहेका छन् । फिल्ममा मुरलिधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना लगायतको अभिनय छ । 

विराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुतिमा तयार भइरहेको यो फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रविन केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ । फिल्ममा विराजको कथा, सन्तोष सरकारको पटकथा तथा संवाद छ । 

यो फिल्मका लागि विराजले दक्षिण भारतीय एक्सन निर्देशक स्टन्ट सिल्भालाई नेपाल भित्राएका थिए । फिल्ममा सिल्भाले द्धन्द्ध निर्देशक शंकर महर्जनलाई सघाइरहेका छन् । 

महेश पौडेलको छायांकन रहेको फिल्मलाई काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौडामा गरिएको छ ।