‘कमेडी च्याम्पियन ३’को उपाधि सुनीललाई

शनिबार साँझ आयोजना भएको ‘कमेडी च्याम्पियन–३’को उपाधि सुनील खड्काले जितेका छन् । कमेडी च्याम्पियनको स्टुडियोमा दर्शकहरुको अगाडि कार्यक्रम होस्ट रीमा विश्वकर्माले विजेताको नाम घोषणा गरेकी हुन् । 

उपाधिसँगै सुनीलले २५ लाख नगद पुरस्कार र ४० लाख मूल्यको विद्युतीय गाडी जितेका छन् । 

यो रियालिटी शोको फस्ट रनरअपको उपाधि ऋषभ काफ्ले र सेकेन्ड रनरअपको उपाधि सुयसा खनालले जितेकी छिन् । 

विशाल भण्डारी यो शोका निर्देशक हुन् । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको शोमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायकको रुपमा थिए । 

‘कमेडी च्याम्पियन’ले पहिलो सिजनबाट नै दर्शकको साथ पाउँदै आएको छ । यो शोमा सहभागी भएपछि धेरै कमेडियनहरुको करिअर समेत परिवर्तन भएको छ ।