दया भन्छन्–‘पहिला दर्शक बनेर फिल्मको स्क्रिप्ट पढ्छु’

फिल्म ‘घर ज्वाइँ’को प्रचारमा रहेका नायक दयाहाङ राईले आफ्नै स्टाइलले फिल्मको कथा छान्ने गरेको बताएका छन् । 

बिहिबार आयोजना भएको फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै दयाले आफूले पहिले दर्शक बनेर फिल्मको कथा पढ्ने बताए । 

गतबर्ष ९ वटा फिल्म हलमा रिलिज भएपछि दयाहाङको फिल्मसँग दर्शक वाक्क भएको टिप्पणी समेत हुन थालेको छ । यसैले, दया फिल्मको कथा छनोटमा सजग देखिएका हुन् । उनले, फिल्मको कथा पढ्दा दर्शक बनेर पढ्ने अनि मात्र सहकार्य गर्ने तर्क गरे । 

अर्कोतिर, दयालाई पछिल्लो समय विभिन्न जातिका कथामा निर्माण भएका फिल्ममा बढी जोडिएको भन्ने खालका प्रश्न समेत आउन थालेको छ । दयाले, आफ्नो अनुहार नै त्यस्तै भएको तर्क गरे । 

उनले अगाडि भने–‘यहाँ भन्न पर्ने कथा त कति छन् कति । मैले त केही कथामा मात्र काम गरेको छु । थाहा छैन, मैले कति कथामा काम गर्न सक्छु ।’
दयाले अभिनय गरेको फिल्म ‘घर ज्वाइँ’को रिलिज असार २८ गतेबाट रिलिजमा आउँदैछ ।