पूजाले गुमाएको एउटा अवसर

फिल्म ‘दान्भी’ रिलिजको आज छैटौँ दिन हो । तर, यो फिल्म देशका धेरैजसो हलबाट उत्रिसकेको छ । केही हलमा एक शो मात्र बाँकी छ । फिल्म रिलिजको ६ दिनमै किन यसरी खुम्चियो त ? 

नायिका पूजा शर्मा अभिनित यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको थियो । फिल्म प्रचारमा पनि पूजाले कुनै कसर बाँकी राखेकी थिएनन् । अधिकांश युट्युब च्यानलमा उनी अन्तरवर्ता दिन पुगिन् । 

तर, दर्शकले यसपटक उनलाई पत्याएनन् । रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्मको टिजर सार्वजनिक हुँदा निकै राम्रो हाइप थियो । तर, फिल्मको ट्रेलर रिलिज भएपछि भने खासै चर्चा भएन । जसको असर, बक्स अफिसमा देखियो । 

इनिसियल व्यापारमै कमजोर देखिएको फिल्मले निकै फितलो व्यापार गर्यो । यो बर्ष नेपाली फिल्ममा नायिकाहरू हाबी भइरहेका छन् । यस्तो अवस्थामा, पूजालाई भने एउटा ठूलो अवसर प्राप्त भएको थियो । केकी अधिकारी, आँचल शर्मा, मिरुना मगरको फिल्म चल्यो ।

‘फर्की फर्की’बाट नायिका जसिता गुरुङले ठूलो हाइप प्राप्त गरिन् । पूजालाई पनि यही सूचीमा पर्ने ठूलो अवसर थियो । तर, उनको यो फिल्म नराम्रोसँग बक्स अफिसमा चिप्लियो । 

फिल्म हेरेका अधिकांशले पूजाको एक्सन अवतारलाई रुचाए । तर, कथावस्तुमा फिल्म कमजोर देखियो । मेकिङ, पटकथा आदिलाई दर्शकले रुचाएनन् । जसको प्रभाव फिल्मको बक्स अफिसमा देखियो । 

यो फिल्ममा पूजा सिंगल थिइन् । यसैले, यो फिल्म चलेको भए पूजालाई करिअरमा नै निकै फाइदा हुने थियो । पूजा यसपटक यो अवसर प्राप्त गर्नबाट चुकेकी छिन् ।