के जसिताले साम्राज्ञीको कमेन्ट हटाएकी हुन् ?

नायिका जसिता गुरुङले कान्तिपुर टेलिभिजनमा प्रशारण भएको ‘इट्स माई शो’ नामक कार्यक्रममा आफ्नो नाम मुछिएपछि आपत्ति जनाइन् । दुई चर्चित नायिकाहरू स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले केही कलाकारहरूको बिषयमा आपत्तिजनक टिप्पणी गरे । उनीहरुले नायिका जसिता गुरुङ, नायक अनमोल केसीदेखि नायिका पूजा शर्माको व्यक्तिगत बिषयमा अनावश्यक टिप्पणी गरेका छन् । 

आफ्नो नाम मुछिएपछि नायिका जसिता गुरुङले सामाजिक संजालमा स्टाटस लेखिन् । उक्त स्टाटसमा हजार बढी प्रतिक्रिया आइसकेको छ ।

अधिकांश सामाजिक संजाल प्रयोगकर्ताहरूले साम्राज्ञी र स्वस्तिमा जस्ता नायिकाहरूबाट यस्तो खालको जवाफको अपेक्षा नगरेको उल्लेख गरेका छन् । 

जसिताले स्टाटस लेखेपछि नायिकाद्धय साम्राज्ञी र स्वस्तिमाले प्रतिक्रिया दिँदै माफी पनि मागेका छन् । तर, साम्राज्ञीको प्रतिक्रिया भने अहिले देखिएको छैन । 

यसैबिच, नायिका शाहले इन्स्टाग्राममा स्टोरी पोष्ट गर्दै  जसिता गुरुङले आफ्नो प्रतिक्रिया हटाएको भन्दै ‘वकवास बन्द गर्न’ आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘एक साथीको रुपमा तिमीले मलाई बर्षौसम्म मानसिक रुपमा सताउने मानिसहरूसँग ह्याङआउट गर्यौ । म छक्क थिएँ तर त्यो तिम्रो रोजाई हो । शोको बारेमा भन्नुपर्दा त्यो होस्टले मजाको लागि प्रश्नहरू सोधेका थिए र हामीलाई थाहा नभएको कुरा बम झैँ खसालेका थिए । तिमी वा अरु कसैलाई चोट पुर्याउने मनसाय थिएन । तर, तिम्रो भावनालाई बुझेर र सम्मान गर्दै तिमीले आफ्नो भावना पोस्ट गरेपछि तुरुन्तै माफी मागेको थिएँ, जुन असल मनसायले गरिएको थियो ।’

साम्राज्ञीले आफूले लेखेको प्रतिक्रिया जसिताले हटाएको आरोप समेत लगाएकी छिन् । उनले, जसितालाई वकवास बन्द गर्न चेतावनी समेत दिएकी छिन् । 

जसिताले प्रतिक्रिया हटाएको आरोप साम्राज्ञीले लगाएपछि हामीले जसितासँग यो बिषयमा सोध्यौँ । यो बिषयमा जसिताले भनिन्–‘म किन उनले गरेको प्रतिक्रिया हटाउँछु । साम्राज्ञीले त मैले स्टाटस लेख्ने वित्तिकै मलाई इन्स्टाग्राममा ब्लक गरेकी थिइन् । पछि, उनले माफी मागिन् र आफै हटाइछन् । मैले, उनको प्रतिक्रिया हटाएकी होइनँ ।’

जसिताले साम्राज्ञीको माफी मागेको प्रतिक्रिया नहटाएको बताइरहँदा साम्राज्ञीले भने आफ्नो प्रतिक्रिया हटाएको आरोप लगाएकी छिन् । यसले, यी दुई नायिकाबिचको विवाद अझै लम्बिने देखिएको छ ।