‘इट्स माई शो’ बारे सुरज सिंहको प्रतिक्रिया–‘ब्रान्डप्रतिको मेरो वफदारी ध्वस्त भएको छ’

कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको ‘इट्स माई शो’ कार्यक्रमका सञ्चालक सुरज सिंह ठकुरी अहिले यो शोसँग आवद्ध छैन । यो शोको पहिलो भाग ओसिन सिटौलाले सञ्चालन गरिन् । ओसिनले सञ्चालन गरेको पहिलो शो नै अहिले आलोचित बनेको छ । 

पहिलो भाग नै विवादित भएपछि यो शोका पूर्व होस्ट सुरज सिंह ठकुरीले मुख खोलेका छन् । सामाजिक संजालमा स्टाटसमा लेख्दै उनले भनेका छन्–‘म यो स्पष्ट पार्न चाहन्छु कि, अब कुनै पनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रुपमा । मलाई हालको कार्यक्रममा केही दुर्भाग्यपूर्ण टिप्पणीहरूबारे सचेत गराइएको छ, जसले मलाई चिन्ता उत्पन्न भएको छ । म यो कार्यक्रममा संलग्न छैन र यी घटनाहरूमा मेरो कुनै पनि संलग्नता थिएन भनी दोहोर्याउनै पर्छ ।’

सुरजले आफूलाई वर्षौदेखि देखाएको माया र समर्थनका लागि आभार व्यक्त गरेका छन् । उनले अगाडि लेखेका छन्–‘म यति मात्र भन्न सक्छु कि मेरो २३ बर्षको समर्पण, इमानदारिता र मेरो ब्रान्डप्रतिको वफदारी ध्वस्त भएको छ ।’

उनले, आफू नयाँ शोको हिस्सा बन्न नचाहेको पनि उल्लेख गरेका छन् ।