भारतीय प्राविधिक भित्राएपछि सेनको जवाफ–‘बलिदानलाई अझ उत्कृष्ट बनाउन चाहन्छौं’

फिल्म ‘१२ गाउँ’मा नायक विराज भट्टले दक्षिण भारतीय फिल्मबाट एक्सन निर्देशक भित्राएपछि केही आलोचना भयो । विशेषगरि, द्धन्द्ध निर्देशक हिमाल केसीले नेपालमै उत्कृष्ट द्धन्द्ध निर्देशकहरू हुँदाहुँदै दक्षिण भारतीय फिल्मबाट भित्राएको भन्दै आपत्ति जनाएका थिए । 

अब, निर्देशक सन्तोष सेनले फिल्म ‘बलिदान’का लागि दक्षिण भारतीय फिल्म नगरीबाट छायांकार, द्धन्द्ध निर्देशकसँग ५० जनाको प्राविधिक टोली भित्राएका छन् । साथै, छायांकनका क्रममा प्रयोग हुने क्यामेरासहितका प्राविधिक सामान पनि मुम्बईबाट ल्याउने तयारी उनको छ । 

प्राविधिक टोली भित्राएपछि आफूलाई नेपाली प्राविधिकहरू हुँदाहुँदै किन भारतीय मगाएको भन्दै थुप्रै जिज्ञासा आएको भन्दै सेनले सामाजिक संजालबाट जवाफ दिएका छन् ।

उनले लेखेका छन्–‘मेरा पनि केही कारण र वाध्यता छ । प्राविधिक रुपमा यसपटक कही कतै पनि त्रुटी नहोस् भन्ने चाहन्छु । दक्षिण भारतको फिल्म उद्योग प्राविधिक क्षेत्रमा अत्यन्तै उन्नत र नवप्रवर्तनशिल छ । त्यहाँका प्राविधिकहरूको अनुभव, दक्षता र सिर्जनशिलता विश्वभर प्रशंसित छ । बलिदानलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन, म उनीहरुको विशिष्टता र दक्षतालाई हाम्रो फिल्ममा समावेश गर्न चाहन्छु ।’

उनले, नेपाली प्राविधिकहरूको प्रतिभा र क्षमताप्रति अविश्वास नगरेको स्पष्ट पारेका छन् । तर, विश्वभरका उत्कृष्ट प्राविधिकहरूसँग सहकार्य गरि फिल्मलाई अझ, उत्कृष्ट बनाउन चाहेको उनको भनाई छ । 

यो फिल्मका लागि इटहरी र विराटनगरमा भव्य सेट समेत तयार पारिँदैछ । फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्य देव र ऋचा शर्मा फाइनल भइसकेका छन् ।