साम्राज्ञी र स्वस्तिमालाई जसिताको प्रश्न–‘महिला भएर समाजका लागि कस्तो उदाहरण दिन खोज्नुभएको हो ?’

नायिकाद्धय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको ‘इट्स माई शो’मा पुगेर थुप्रै कलाकारहरूको व्यक्तिगत जीवनबारे टिप्पणी गरे । उनीहरुले, केही कलाकारहरूको चरित्रमाथि नै औँला उठाएका छन् । 

यी दुईले नायिका जसिता गुरुङको व्यक्तिगत जीवनलाई हलुका रुपमा लिएर टिप्पणी गरे । अझ, एउटा गेम शोको नाममा मजाकमा उडाएका छन् । जसिताको व्यक्तिगत जीवनमा प्रवेश गर्दै उनको चरित्रमाथि नै प्रश्न उठ्ने गरि मजाक गर्दै दुई नायिकाले जवाफ दिएका छन् । 

अब, यो बिषयमा नायिका जसिता गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा उनले लेखेकी छिन्–‘मैले कहिल्यै वुझ्न सकिनँ कि, मानिसहरूले राष्ट्रिय टेलिभिजनमा कसैको व्यक्तिगत जीवनको बारेमा कसरी कुरा गर्न सक्छन्, जब कि उनीहरुलाई व्यक्तिगत रुपमा केही पनि थाहा छैन । यो अन्तवार्ता हेरेपछि म यी व्यक्तिहरूबाट निकै दुःखी छु । के हामी साँच्चै एक महिलाले अर्को महिलालाई होच्याउने प्रवृत्तिको विरुद्धमा छौं त ?’

जसिताले आफ्नो यी दुबै नायिकासँग कुनै पनि खालको समस्या नभएको बताएकी छिन् । उनले साम्राज्ञी र स्वस्तिमा दुबैलाई एक कलाकारको रुपमा आफूले सधैं नै सम्मान गरेको उल्लेख गरेकी छिन् । 

जसिताले आफूले विगतमा भोगेको कुराको बारेमा केही जानकारी छ भनेर स्वस्तिमा र साम्राज्ञीसँग प्रश्न गरेकी छिन् । साथै, उनले महिला भएर समाजमा कस्तो खालको उदाहरण प्रस्तुत गर्न खोजिएको हो भन्दै प्रश्न राखेकी छिन् । 

उनले, कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रुपमा बदनाम गर्ने र चर्चा गर्ने कारण के हो भनेर दुबै नायिकासँग प्रश्न सोधेकी छिन् । 

जसिताको यो स्टाटसमा नायक अनमोल केसीले पनि जवाफ दिएका छन् । अनमोलले स्वस्तिमा र साम्राज्ञीलाई पहिले वास्तविक चरित्रमा ध्यान केन्द्रित गर्न र त्यसपछि पर्दाको चरित्रमा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । 

कार्यक्रममा स्वस्तिमाले अनमोल केसीको प्रेमिकाको बिषयमा पनि जवाफ दिएकी थिइन् ।