‘जेरीः अन टप’मा जसिता भित्रिइन्, आना बाहिरिइन्

सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘जेरीः अन टप’मा नायिका जसिता गुरुङ भित्रिएकी छिन् । शनिबार मेरो फिल्मले जसिताले फिल्ममा काम गर्ने पक्का भएको खबर सार्वजनिक गरेको थियो ।

तर, नायिका गुरुङले सोमबार मात्र फिल्ममा कागजी संझौता गरेकी हुन् । लिखित रुपमा नै फिल्म साइन गरेपछि जसिता उत्साहित देखिइन् । 

उनले, फिल्मको टिम, आफ्नो भूमिकाका कारण नै फिल्म साइन गरेको बताइन् । यो फिल्ममा अब नायक अनमोल केसी, नायिकाद्धय आँचल शर्मा र जसिता गुरुङले काम गर्ने पक्का भएको छ । 

यसअघि नायिका आना शर्मा यो फिल्ममा मुख्य भुमिकामा थिइन् । तर, अब यो फिल्मबाट आना बाहिरिएकी छिन् । आना किन बाहिरिइन् भन्ने बिषयमा निर्माणपक्षले केही पनि बोलेको छैन । 

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्ममा सरोज न्यौपाने र दीपक भण्डारीको लगानी रहनेछ । फिल्मका क्रियटिभ निर्माता रोहित अधिकारी हुन् । यो फिल्मको छायांकन काठमाडौं, मुस्ताङ, लुक्ला लगायतका स्थानमा हुनेछ ।