राजेन्द्र लिङ्देनको आरोप–‘बोर्ड अध्यक्ष पैसामा बिक्री हुन्छन्’
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि राजनीतिक दलका नेतालाई पैसा खुवाउनुपर्ने गम्भीर आरोप लगाएका छन् ।
फिल्म ‘दान्भी’को विशेष शोमा पुगेका लिङ्देनले नेपाली फिल्म क्षेत्रलाई राज्यले संरक्षण गर्नुपर्ने तर्क गरे । फिल्म क्षेत्र एक्लैले नसक्ने भन्दै उनले राज्यले पनि यो क्षेत्रलाई संरक्षण गर्न आवश्यक रहेको तर्क गरे ।
अध्यक्ष लिङ्देनले भने–‘यति धेरै लगानी गरेर फिल्महरू निर्माण भएका छन् । के हाम्रा दर्शक र हाम्रा भूगोलले मात्र पुग्छ त । यसमा राज्यले संरक्षण गर्नुपर्छ । तर, चलचित्र विकास बोर्डका अध्यक्ष पैसामा विक्री हुन्छन् । पैसामा किनबेच हुन्छन् । यसैले नेताहरूलाई ठिक ठाउँमा ल्याउनुपर्छ ।’
उनले, चलचित्र विकास बोर्डका अध्यक्ष पैसामा बिक्री हुने भएपनि कुन अध्यक्ष पैसामा बिक्री भए भनेर खुलाएनन् ।
अध्यक्ष लिङ्देनले ‘दान्भी’ फिल्म उत्कृष्ट बनेको भन्दै प्रशंसा गरे । फिल्मले उठाएको कथावस्तु निकै राम्रो भएको उनको तर्क थियो । साथै, उनले नायिका पूजा शर्माको कामको पनि प्रशंसा गरे ।
प्रतिक्रिया