‘दान्भी’ले कुन्साङलाई फाइदा भयो कि घाटा ?

उसो त फिल्म ‘घुइँचो’ निर्माण भएको भए, नायक कुन्साङ बोमजोमले केही समय पहिले नै फिल्म क्षेत्रमा डेब्यू गरिसक्थे । तर, यो फिल्म निर्माण नहुँदा उनले डेब्यूका लागि केही समय पर्खिनुपर्यो । 

उनको डेब्यू फिल्म ‘दान्भी’ हलमा रिलिज भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्मको शीर्ष भूमिकामा नायिका पूजा शर्माले काम गरेकी छिन् । यो फिल्ममा कुन्साङको साथमा अर्का कलाकार किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । 

म्युजिक भिडियोमा जमेका कुन्साङ अब फिल्म क्षेत्रमा करिअर बनाउने दौडमा छन् । फिल्म ‘दान्भी’बाट कुन्साङले संभावना देखाएका छन् विशेषगरी, यो फिल्ममा उनले गरेको एक्सनमा धेरैको ध्यान गएको छ । 

कुन्साङले एक्सनका लागि निकै मिहिनेत गरेको देखिन्छ । फिल्ममा कुन्साङको संवाद उच्चारणमा भने समस्या देखिएको छ । उनले, यो कुरामा भने मिहिनेत गर्नुपर्ने देखिन्छ । 

यस्तै, अभिनयमा पनि उनले अझै आफूलाई परिपक्व बनाउन आवश्यक छ । तर, यो फिल्मबाट कुन्साङले आफूलाई बलियो नायकको रुपमा भने चित्रित गरेका छन् । अब मेकरले उनलाई कसरी फिल्मको पर्दामा प्रस्तुत गर्छन्, हेर्न बाँकी छ ।