‘अगस्त्य’पछि सौरभको व्यस्तता बढ्यो, सलोन–सलिनको फिल्म पनि निर्देशन गर्दै

फिल्म ‘अगस्त्य’ निर्देशन गरेपछि निर्देशक सौरभ चौधरीको माग पनि बढेको छ । यो फिल्मले व्यापार औषत गरेपनि उनको निर्देशकीय पक्षले भने चर्चा पायो । नेपाली फिल्ममा केही नयाँ प्रयोग गर्ने कोशिश सौरभले गरेका थिए । यसैले, उनको पाइपलाइनमा फिल्महरू बढ्न थालेका छन् । 

उनले, ‘अगस्त्य’कै टिमसँग अर्को एक नयाँ फिल्मको पनि निर्देशन गर्दैछन् । यो फिल्मको घोषणा केही समयपछि हुनेछ । 

अब, उनले सलोन बस्नेतले निर्माण गर्न लागेको ‘युनिभर्सिटी अफ गुन्डाज’को पनि निर्देशन गर्ने पक्का भएको छ । निर्माण टिमसँग उनको लिखित संझौता भएको छैन । तर, मौखिक रुपमा काम गर्ने पक्का भएको चौधरीले मेरो फिल्मलाई जानकारी दिएका छन् । 

यो फिल्ममा नायकद्धय सलिनमान बनियाँ र सलोन बस्नेतले काम गर्ने पक्का भएको छ । विश्वविद्यालयमा हुने गरेको राजनीति र गुण्डागर्दीको कथामा यो फिल्म बन्नेछ । यही फिल्मबाट नायक सलिनमान बनियाँले कमब्याक समेत गर्दैछन् । 

सौरभका अनुसार, यो फिल्मको छायांकन माघको अन्तिम साताबाट हुनेछ । त्यसअघि उनले ‘अगस्त्य’को टिमको फिल्मको छायांकन सक्नेछन् ।