‘घरज्वाइँ’की ‘बिन्जुरी’ अर्थात मिरुना, दयासँग यस्तो प्रेमभाव

असारको २८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत ‘बिन्जुरी’ सार्वजनिक भएको छ । एसडी योगीको स्वर र संगीतमा तयार भएको यो गीतमा राम अविरलको शब्द छ ।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राइको नायिका मिरुना मगरप्रतिको आकर्षणलाई देखाइएको छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’को रुपमा सम्बोधन गरिएको छ । यसको अर्थ हुन्छ, फूल ।

अनिल बुढामगरको निर्देशनमा तयार भएको यो फिल्ममा जनक घर्ती मगरको लगानी छ । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको यो फिल्ममा अनिलकै कथा छ । फिल्मको पटकथा तथा संवाद लेखनमा अनिललाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

सुशन प्रजापतिको छायांकन रहेको यो फिल्ममा बुद्धि तामाङ, पुस्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन लगायतका कलाकारको अभिनय छ ।