विजय र करिश्माको ‘पालेदाई’ विवादमा, गीत हटाउन चेतावनी

लोकदोहोरी गीत ‘बसे है पालेदाई’ विवादमा परेको छ । बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ लगायतका गायक तथा गायिकाको स्वरमा समावेश यो गीतमा प्रयोग भएका शब्द तथा भिडियोका कारण यो गीतमाथि प्रश्न उठेको हो । विद्यालयलाई माया गर्ने स्थानको रुपमा चित्रित गरिएपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षक संग–संगठनहरुले यो गीत प्रतिबन्धको माग गरेका छन् । 

अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकिकृत अखिल नेपाल शिक्षक संगठनले एकसाथ विज्ञप्ती निकाल्दै यो गीतलाई युट्युबबाट हटाउन माग गरेका छन् । 

संयुक्त रुपमा जारी विज्ञप्तीमा भनिएको छ–‘विद्यालय जस्तो ज्ञानको मन्दिरलाई मायाप्रेम गर्ने थलोको रुपमा चित्रण गर्र्दै नेपाली राष्ट्रिय गानको समेत अपमान गरी राष्ट्रिय गान गाएको अवस्थामा गरिएका विभिन्न हर्कत खेदजनक छन् । शिक्षकहरुलाई अपमानित गरी राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यलयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेकै रुपमा चित्रणका साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकलाई भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालय शिक्षाप्रति नै नकारात्मक भाव प्रकट गरेको छ ।’

आफूहरुको मागलाई बेवास्ता गरिएको खण्डमा गीतसँगै सम्बन्धित गीतका कलाकारहरुलाई समेत सामूहिक बहिष्कार गर्ने चेतावनी विज्ञप्तीमा दिइएको छ । 

बालकृष्ण श्रेष्ठको शब्द तथा जयनन्द लामाको संगीत रहेको यो गीतमा बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रवि कार्की, श्याम राना, बालकुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङको स्वर छ । गीतको भिडियोमा करिश्मा ढकाल, विजय  पुन लगायतको अभिनय छ ।