‘जेरीः अन टप’को वर्कशपमा अनमोल र आँचल

साउनको १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘जेरीः अन टप’को निर्माणपक्ष यतिबेला वर्कशपमा जुटेको छ । 

जापानबाट फर्किएपछि फिल्मका नायक अनमोल केसी पनि फिल्मको वर्कशपमा जुटेका हुन् । यो फिल्ममा नायक अनमोल केसी र नायिका आँचल शर्माले पहिलो  पटक सहकार्य गर्दैछन् । 

फिल्ममा नायिका आना शर्मा पनि मुख्य भूमिकामा छिन् । तर, आना फिल्म ‘एक्टर’को छायांकनमा व्यस्त भएकाले यसको वर्कशपमा जोडिएकी छैनन् । 

सरोज न्यौपानेको निर्माणमा तयार हुन लागेको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । 

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्मलाई यही बर्ष नै रिलिज गर्ने तयारी निर्माणपक्षको छ । 

फिल्म ‘फर्की फर्की’ चलेपछि उत्साहित देखिएका अनमोल र सुयोग यो फिल्मलाई अझै बलियो बनाउने दौडमा छन् । आँचल पनि यो फिल्ममा आफ्नो भूमिकालाई लिएर निकै उत्साहित छिन् ।