तिहारमा रिलिज घोषणा भएका २ फिल्म, जसको छायांकन नै सुरु भएन

नेपाली फिल्मका निर्माताहरूले चाडपर्व र बिदामा फिल्म प्रदर्शनको घोषणा गरिहाल्छन् । चाडपर्वको बिदालाई पहिले नै बुक गर्ने बानी निर्माताको छ । तर, प्रदर्शन मिति बुक गरेपनि सोही मितिमा फिल्म तयार गरेर रिलिज गर्न धेरै निर्मातालाई धौ धौ पर्ने गरेको छ । 

यो बर्षको तिहारमा फिल्म रिलिज गर्ने घोषणा गरेर दुई फिल्मका निर्माताले गतबर्ष नै मिति बुक गरे । 

निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘के घर के डेरा २’को पोस्टर सार्वजनिक गर्दै तिहारमा प्रदर्शन मिति घोषणा गरे । ‘के घर के डेरा’ सफल भएपछि दीपेन्द्रले गतबर्ष नै यसको सिक्वेल मात्र घोषणा गरेनन्, प्रदर्शन मिति पनि तय गरिदिए । तर, यो फिल्मको अहिलेसम्म छायांकनको कुनै सुरसार छैन ।

फिल्मको लागि कुनै तयारी नै सुरु नभएको प्रष्ट छ । दीपेन्द्र र उनको टिमले प्रदर्शन मिति तय त गर्यो, तर फिल्मको काम सुरु गर्न सकेन । 

यही मितिमा निर्देशक परिच्छेद सेनले फिल्म ‘महराजधिराज’ बनाउने घोषणा गरे । यो फिल्मका लागि केही नाम चलेका स्टार कलाकारहरूलाई पनि अफर गरियो । फिल्मको प्रदर्शन मिति तिहारमा पक्का गरिएको थियो । यो फिल्म बनाउनका लागि परिच्छेद अहिले पनि लागिपरेका छन् । तर, फिल्मका लागि कलाकार नै तय हुन सकेका छैनन् । 

एउटा कुरा स्पष्ट के हो भने, परिच्छेदको यो फिल्म पनि तिहारमा रिलिज नहुने पक्का छ । गतबर्ष नै रिलिज मिति तय गरेर निर्माण घोषणा भएका दुई फिल्म अहिलेसम्म छायांकनमा नै जान सकेका छैनन् । 

नेपाली निर्माताहरू फिल्म निर्माणको घोषणा गर्दै प्रदर्शन मिति बुक गर्न हतारिन्छन् । तर, फिल्म निर्माण गर्न भने उनीहरुलाई फलामको चिउरा चपाए जस्तै हुने गरेको छ ।