आचार्यः भक्तराजलाई महशुश गर्न सकिने फिल्म
भोलि शुक्रबारदेखि फिल्म ‘आचार्य’ हलमा लाग्दैछ । १५ बर्ष अगाडि निर्माण भएको यो फिल्म सो समयमा प्राविधिक कारणले धेरै हलमा रिलिज हुन सकेन ।
अब, यसको निर्माणपक्षले फिल्मलाई १५ बर्षपछि फेरि हलमा रिलिज गर्दैछ । प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको यो फिल्मले स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवन कथा भन्छ ।
उनको बाल्यकाल, संघर्ष, सफलता र क्यान्सरका कारण जिब्रो नै काट्नु परेको परिस्थितिसम्मको कथा फिल्मले भन्छ ।
यो फिल्ममा भक्तराजको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले काम गरेका छन् । बुधबार आयोजना भएको फिल्मको प्रिमियरमा उपस्थित अधिकांशले यो फिल्मको कथावस्तु, प्रस्तुति र सत्यराजको अभिनयको खुलेरै तारिफ गरे ।
सत्यराजले फिल्ममा बाबुको जीवन बाँचेका छन् । भक्तराजलाई महशुश गर्नका लागि यो फिल्म हेर्न आवश्यक रहेको अधिकांशको भनाई थियो ।
फिल्ममा भक्तराजको श्रीमतीको भूमिकामा अरुणा कार्कीले अभिनय गरेकी छिन् । फिल्ममा विपिन कार्की, दयाहाङ राई, सौगात मल्ललाई समेत विशेष भूमिकामा देख्न पाइन्छ ।
शैलेन्द्र डी कार्कीको छायांकन रहेको यो फिल्मलाई महशुश गरेर हेर्नुपर्ने सत्यराजको भनाई छ ।
१५ बर्षपछि केही दृश्य सम्पादन गरेर रिलिज गरिएको यो फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया