आर्शिवाद र छिरिङको ‘टासीडेले’को ट्रेलर खिचियो, छायांकन भदौबाट

फिल्म ‘राधा’का निर्देशक सुवर्ण थापाले अर्को फिल्मको काम अगाडि बढाएका छन् । सुवर्णको निर्देशनमा तयार हुन लागेको फिल्म ‘टासीडेले’को टिजरको छायांकन काठमाडौंमा भइरहेको छ । सुवर्णका अनुसार, फिल्मको छायांकन भने भदौ महिनाबाट सुरु हुनेछ । 

ट्रेलरको छायाङ्कनपछि निर्माणपक्षले फस्टलुक सार्वजनिक गर्ने तयारी गरेको छ । हिमाल चढ्ने शेर्पाली युवतीको कथामा यो फिल्म निर्माण हुनेछ ।

फिल्ममा ‘नाई नभन्नु ल ६’बाट डेब्यू गरेका नायक आर्शीवाद क्षेत्री मुख्य भूमिकामा देखिदैछन् । उनको साथमा फिल्ममा छिरिङ शेर्पा र लाक्पा शेर्पाको पनि मुख्य भूमिका रहनेछ । छिरिङकै वरिपरी रहेर यो फिल्म निर्माण हुनेछ । 

शम्भुजित बास्कोटाको निर्माणमा तयार हुने फिल्ममा चर्चित ढुङ्गेलको पटकथा छ । संजय लामाले छायांकन गर्ने फिल्ममा शम्भुजितकै कथा छ । फिल्म ‘टासीडेले’ले हिमालको कथा भन्नेछ । 

फिल्म ‘नाई नभन्नु ल ६’मा काम गरेपछि डेढ बर्ष मौन बसेका आर्शिवादले अब भने आफूलाई फिल्ममा फर्काएका छन् । उनका लागि यो फिल्म विशेष हुने अड्कल गर्न सकिन्छ ।