‘तेल भिसा’बाट ठूलो पर्दामा को–को फर्किदैछन् ?

अमेरिकामा रहेका निर्देशक शंकर घिमिरेले निर्देशन गरिरहेको फिल्म ‘तेल भिसा’को छायांकन अब केही प्रतिशत मात्र बाँकी छ । फिल्मको अमेरिकाको छायांकन सकिएको छ । 

यो फिल्मको अमेरिकाको छायांकन सकेर नायक विपिन कार्की नेपाल फर्किसकेका छन् । यो फिल्ममा विपिनको जोडीको रुपमा नायिका वर्षा राउतले काम गर्दैछिन् । 

फिल्म ‘तेल भिसा’बाट नेपाली फिल्म क्षेत्रमा कुनै समय तहल्का मच्चाएका केही अनुहारहरूले कमब्याक गर्दैछन् । यसैले, पनि यो फिल्म विशेष हुने अड्कल लगाउन सकिन्छ । 

फिल्म ‘तेल भिसा’मा नायिका ऋचा घिमिरेले काम गरेकी छिन् । उनी भने लामो समयदेखि पर्दामा देखिएकी छैनन् । यस्तै, नायिका पूजा चन्दका लागि पनि यो कमब्याक फिल्म हुनेछ । 

यो फिल्मबाट नायक सुशील क्षेत्रीले पनि ठूलो पर्दामा कमब्याक गर्दैछन् । अमेरिकामा नै रहेका सुशिलले यो फिल्मको एउटा गीतमा नृत्य गरेका छन् । सुशीलको नृत्यलाई पनि दर्शकले निकै मन पराएका थिए । 

अहिलेका चल्तीका कलाकार र कुनै समय ठूलो पर्दामा चम्किएका कलाकाररुले काम गरेको यो फिल्म विशेष हुने विश्लेषण गर्न सकिन्छ । फिल्मको बाँकी छायांकन चितवनमा सेट लगाएर गर्ने तयारी गरिएको छ ।