‘प्रसाद २’ विवाद अदालतमा, सुदर्शनसहित ३ जनाविरुद्ध ठगी मुद्दा दायर

फिल्म ‘प्रसाद २’का निर्देशक सुदर्शन थापासहित ३ जनाले १ करोड ५० लाख ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । 

बौद्धस्थित प्रहरी वृत्तले तीन जनाविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन वुझाएको थियो । सरकारी वकिलले प्रहरीले वुझाएको प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दर्ता गराएको हो । 

यो मुद्दामा सुदर्शनसहित फिल्मका सम्पादक मिलन कुमार श्रेष्ठ र डिजिटल अधिकार खरिदकर्ता ओमप्रकाश अग्रवाललाई पनि प्रतिवादी बनाइएको छ । प्रहरीले यसअघि नै सुदर्शन र ओम प्रकाशलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडेको थियो । 

फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले दिएको उजुरीको आधारमा यी तिनविरुद्ध मुद्दा दायर भएको हो । 

फिल्मका निर्देशक थापा, सम्पादक श्रेष्ठ र ओएसआर डिजिटलका प्रमुख अग्रवालले फिल्मका निर्मातालाई कुनै जानकारी नदिई फिल्मको एउटा फाइल आफूसँग राखेको, फिल्मको ट्रेलर विक्री वितरण गरेको भन्दै निर्माता बस्नेतले १ करोड ५० लाख क्षति भएको भन्दै उजुरी दिएका हुन् । 

यस्तै, निर्मातालाई जानकारी नै नदिई ओएसआरले फिल्म रिलिज गरेको, अमेरिका, अष्ट्रेलिया, दुबई, कतार लगायतका मुलुकमा पनि निर्मातासँग सल्लाह नै नगरी विक्री गरेको आरोप लगाइएको छ । 

उनीहरू विरुद्ध १ करोड ५० लाख रुपैया बिगो, क्षतिपूर्तिका साथै सात बर्षसम्मको कैद माग दाबी पनि गरिएको छ ।