टुँडिखेलबाट दया र मिरुनाले सुरु गरे ‘घर ज्वाइँ’को प्रचार

असारको २८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘घर ज्वाइँ’को प्रचारमा यसका कलाकार लागेका छन् । फिल्मको प्रचार काठमाडौंको टुँडिखेलबाट सुरु गरिएको हो । मगरहरूको महान् पर्व भुमेको अवसर पारेर फिल्मको प्रचार थालिएको निर्माता जनक घर्ती मगरले बताएका छन् ।

मुख्य कलाकारहरू दयाहाङ राई, मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशिर वाङ्देल, भोलाराज सापकोटा लगायत पुगेका थिए । कार्यक्रममा बोल्दै नायक दयाहाङ राईले नेपाल बहुल जाती र भाषिक देश भएकाले एक अर्काको संस्कार र संस्कृति वुझ्न जरुरी भएको बताए ।

उनले, आफू भोजपुरमा जन्मिएको  राईको छोरो भएपनि पूर्वी रुकुमको एक मगर युवाको जीवन फिल्ममा बाँच्न पाएको र आफूले यो भूमिकालाई न्याय दिन दिलो ज्यान लगाएकाले सबैलाई मनपर्ने विश्वास व्यक्त गरेका थिए । 

यस्तै, नायिका मिरुना मगरले आफू सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई नजिकबाट वुझ्न नपाएको भन्दै यो फिल्मबाट धेरै कुरा वुझ्न पाएको बताइन् । 

जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिको खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको  फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् ।

उनलाई पटकथा तथा संवादमा विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । यो फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भण्डारीले सम्पादन गरेको यो फिल्मलाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।