दुई महिनामा पाँच नयाँ अनुहारको इन्ट्रीः कसको संभावना बलियो ?

वैशाख र जेठ महिना नेपाली फिल्मका लागि निकै सुखद देखिएको छ । वैशाख महिनामा रिलिजमा आएका फिल्ममध्ये ‘रेड सुटकेस र खजुरे ब्रो’ बाहेक अरु फिल्मको व्यापार सुखद बन्यो । 

जेठ महिनामा पनि ‘फर्की फर्की र पुजार सार्की’ले हंगामा मच्चाए । अहिले फिल्म ‘गाउँ आएको बाटो’ले पनि सुखद कमाई गरिरहेको छ । 

यी दुई महिनामा नेपाली फिल्म क्षेत्रमा पाँच नयाँ अनुहारको प्रवेश भएको छ । यी पाँच अनुहारले कस्तो संभावना देखाए त, आउनुहोस् चर्चा गरौं । 



१. नीति शाहः फिल्म ‘खजुरे ब्रो’बाट नायिका नीति शाहको प्रवेश भयो । फिल्म रिलिज अगाडि उनी नै सर्वाधिक चर्चामा थिइन् । तर, फिल्म रिलिजपछि भने नीतिको कामले खासै चर्चा पाएन । तर, नीतिको करिअर भने दौडिरहेको छ ।

उनी, हाल फिल्म ‘ज्वाइँ साब’को छायांकनमा व्यस्त छिन् । यसपछि, उनले फिल्म ‘रुखान’मा काम गर्नेछिन् । वुझिएअनुसार, नीतिले फिल्म ‘ज्वाइँ साब’बाट दर्शकलाई प्रभावित बनाउन कोशिश गरिरहेकी छिन् । 



२. रवि काफ्लेः फिल्म ‘फर्की फर्की’बाट कलाकार रवि काफ्लेको उदय भयो । फिल्म भित्र उनले ‘सुभाष’ नामक पात्रको भूमिकामा काम गरेका थिए । यो पात्र निकै चर्चित बन्यो । रविलाई अब दर्शकले कुन फिल्ममा हेर्न पाउने हुन्, पक्का छैन ।

तर, उनी नायक भन्दा पनि नायकको साथीको रुपमा जम्ने विश्लेषण गरिएको छ । फिल्मको चर्चासँगै उनको पनि कामको निकै चर्चा भयो । अनमोल केसी जस्ता चर्चित स्टारसँग काम गर्दा पनि उनी क्लिक भए । यसैले, यो फिल्मबाट रविलाई निकै फाइदा भयो । 



३. समृद्धी अर्यालः फिल्म ‘फर्की फर्की’ बाट नव–कलाकार समृद्धी अर्यालको प्रवेश भयो । यो फिल्ममा समृद्धीले गरेको अभिनयको पनि तारिफ भयो । फिल्ममा समृद्धीले नायिका जसिता गुरुङको साथीको रुपमा अभिनय गरेकी छिन् । समृद्धीले यो फिल्म रिलिज भएपछि म्युजिक भिडियोमा काम गरेकी छिन् । उनको अभिनयलाई पनि मेकरहरुले रुचाएका कारण आगामी दिनमा उनको फिल्मी करिअर सुखद हुने देखिन्छ । 



४. निश्चल खड्काः फिल्म ‘लण्डन टू पेरिस’बाट नायक निश्चल खड्काको उदय भयो । यो फिल्म बक्स अफिसमा असफल भयो । तर, फिल्मबाट भने निश्चलको करिअर उचाइमा पुगेको छ । उनलाई नेपाली फिल्मको नयाँ लभरब्वाइको रुपमा हेर्न थालिएको छ ।

फिल्मबाट निश्चल गज्जबले उदाएका छन् । उनको अभिनय, संवादको शैली, लुक्सलाई दर्शकले निकै मन पराएका छन् । यसैले, निश्चलले आगामी दिनमा राम्रा टिमसँग काम गर्ने संभावना उच्च छ । यो बर्ष नेपाली फिल्ममा प्रवेश गरेका कलाकारहरूमा निश्चलको माग उच्च हुने देखिन्छ । 


५. गरिमा शर्माः टिकटक, म्युजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी गरिमा शर्मा अभिनित फिल्म ‘लण्डन टू पेरिस’ बक्स अफिसमा असफल भयो । फिल्म असफल हुँदा गरिमालाई पनि घाटा लाग्यो । गरिमाको अभिनयको निश्चलको जस्तो तारिफ त भएन, तर आलोचना पनि भएको छैन ।

यसैले, गरिमाले आगामी दिनमा आफूलाई अझै निखारेर प्रमाणित गर्न आवश्यक छ । उनले अभिनयमा अझै निखार ल्याउन सक्ने हो भने आगामी दिन उनको पनि उज्ज्वल देखिन्छ । तर, पहिलो फिल्मबाटै गरिमाले आफूलाई प्रमाणित गर्न भने सकिनन् ।