साम्राज्ञी र धिरजको ‘रुमानी रंग’को निर्माण अन्यौलमा

फिल्म ‘रुमानी रंग’को निर्माण अन्यौलमा परेको छ । ४ महिना अगाडि निर्माण घोषणा गरिएको यो फिल्मको छायांकन अहिलेसम्म सुरु हुन सकेको छैन । 
वैशाखबाट छायांकन सुरु गर्ने बताइए पनि अहिलेसम्म फिल्मको छायांकनको काम नै अगाडि बढ्न नसकेपछि यसको निर्माण नै अन्यौलमा परेको वुझिएको छ । 

ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा जीएम ठकुरी प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माताको रुपमा थिए । 

यो फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्ने पक्का भएको थियो । तर, विशेष स्रोतले फेरि फिल्मलाई दिएको जानकारी अनुसार यो फिल्मबाट अनिल बाहिरिएका छन् । अनिलले यो फिल्म नगर्ने जानकारी निर्माणपक्षलाई दिएपछि यसका निर्माता नयाँ निर्देशकको खोजीमा छन् । 

९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा गर्ने भनिएको यो फिल्ममा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने पक्का भएको थियो । 

साम्राज्ञीले अभिनय गरेको फिल्म ‘लण्डन टु पेरिस’ बक्स अफिसमा सुपर फ्लप भयो । यसैले, उनका लागि यो फिल्म निर्माण हुन आवश्यक थियो । तर, अब निर्देशक नै फिल्मबाट बाहिरिएपछि फिल्म बन्छ या बन्दैन भन्न सकिने अवस्था छैन ।