‘ह्रस्व दीर्घ’मा नीताको गज्जबको अवतार

असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ क्यारेक्टर पोस्टर रिलिज भएको छ । नायिका तथा निर्मात्री नीता ढुंगानाको क्यारेक्टर पोस्टर निर्माणपक्षले सार्वजनिक गरेको हो । 

सार्वजनिक पोस्टर गज्जबको छ । पोस्टरमा नीतासँगै अन्य ६ जना कलाकारको टाउको जोडिएको छ । झट्ट हेर्दा नीताको रावणको अवतार पोस्टरमा हेर्न सकिन्छ । 

तर, पोस्टर हेर्दा नीताले ६ जना पुरुष पात्रलाई तह लगाएको बुझ्न सकिन्छ । सार्वजनिक पोस्टरमा नीतासँगै साउथका कलाकार ब्रमानन्दमको टाउको पनि जोडिएको छ । साथमा किरण केसी, वुद्दि तामाङ, रविन्द्र झा लगायतको टाउको पनि पोस्टरमा समावेश छ । 

चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्ममा हरिहर अधिकारी, विपना थापा, संचिता लुइँटेल, गरिमा शर्मा लगायतका कलाकारको पनि अभिनय छ । 

फिल्ममा हरिहर अधिकारीको कथा, कविर लालको छायांकन, मित्र डी गुरुङको सम्पादन, प्याट्रिक पौडेलको लेखन छ । फिल्मलाई नायिका नीता ढुंगानाले नै निर्माण गरेकी हुन् । 

नेपाली र दक्षिण भारतका विभिन्न प्रान्तका भाषामा यो फिल्मलाई तयार पारिनेछ । महँगो बजेटमा निर्माण गरिएको यो फिल्मलाई नेपालसँगै दक्षिण भारतमा पनि रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।