स्वस्तिमा र प्रदीपको फिल्म कहिले ?

काठमाडौंमा केही दिन अगाडि आयोजना भएको एक फेसन शोमा नायिका स्वस्तिमा खड्का र नायक प्रदीप खड्का दुबै सहभागी भए । यी दुवैको पहिरन र फेसनले दर्शकलाई आकर्षित पनि गरेको छ । 

यी दुई र्याम्पमा हिँडेका भिडियोहरू सामाजिक संजालमा खुबै भेटिन्छन् । यतिमात्र होइन, स्वस्तिमा र प्रदीपको पहिरनको चर्चा पनि भइरहेको छ ।
 
तर, यो बीचमा दर्शकले स्वस्तिमा र प्रदीपले एकसाथ कहिले काम गर्छन् भनेर कौतुहलता समेत देखाएका छन् । नेपाली फिल्म क्षेत्रमा अहिले यी दुबै कलाकारको चर्चा शिखरमा छ । अभिनयका हिसाबले पनि यी दुई अब्बल साबित भएका छन् । यस्तो अवस्थामा स्वस्तिमा र प्रदीप जस्ता कलाकार एकसाथ पर्दामा आउनुपर्छ भन्ने माग दर्शकको छ । 

एक दर्शकले यो जोडीलाई एकसाथ पर्दामा हेर्न मन छ भनेर सामाजिक संजालमा स्टोरी पोष्ट गर्दा स्वस्तिमाले त्यसलाई शेयर गरेकी छिन् । यसले, उनी पनि प्रदीपसँग पर्दा शेयर गर्नका लागि उत्साहित रहेको पुष्टि हुन्छ । 

फिल्मको लाइनअपको कुरा गर्दा यी दुबै निकै व्यस्त छन् । प्रदीपको हातमा आधा दर्जन फिल्म छ । स्वस्तिमा भने होम प्रोडक्शनको फिल्म ‘बेहुली फ्रम मेघौली’ र प्रकाश सपुतको निर्देशनमा बन्न लागेको फिल्म ‘बसन्त’मा व्यस्त छिन् । यस्तो अवस्थामा, यी दुईको सहकार्य कहिले होला त ? दर्शक प्रतीक्षा गरिरहेका छन् ।