साधुटारबाट सुरु भयो विपिन र मिरुनाको ‘उनको स्विटर’को छायांकन

फिल्म ‘उनको स्विटर’को छायांकन आजबाट सुरु भएको छ । पाँचथरको साधुटारबाट फिल्मको छायांकन सुरु गरिएको निर्देशक नविन चौहानले जानकारी दिएका छन् । ३५ दिनसम्म यो फिल्म खिचिनेछ ।

फिल्मको मुख्य भूमिकामा नायक विपिन कार्की र नायिका मिरुना मगर छन् । यी दुबै कलाकारले तीन दिनपछि काम सुरु गर्नेछन् । फिल्ममा एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमु, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी, कवि राई, रुपेश लामा, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहनेछ ।

नविन चौहानको नै लेखन रहेको फिल्ममा सुरज कटुवालको सह–लेखन छ । चिन्तनराज भण्डारीले यो फिल्मको छायांकन गर्नेछन् । यो फिल्मलाई शरद ऋतुमा प्रदर्शन गर्ने तयारी गरिएको छ । 

नायक विपिन कार्की फिल्म ‘तेल भिसा’को अमेरिकामा एक महिना लामो छायांकन सकेर यो फिल्ममा जोडिनेछन् । नायिका मिरुना मगर भने फिल्म ‘मनसरा’को सफलतापछि यो फिल्मको छायांकनमा जोडिनेछिन् ।