‘लण्डन टू पेरिस’: कमजोर समीक्षा, निराशाजनक व्यापार
शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘लण्डन टू पेरिस’ले बक्स अफिसमा निकै फितलो व्यापार गरेको छ । शुक्रबार र शनिबार नै फिल्मको व्यापारमा कुनै उत्साह देखिएन । शुक्रबार र शनिबारको निकै कमजोर व्यापारका कारण यो फिल्मको शोजमा भारी कटौती समेत भएको छ । आजबाट अधिकांश मल्टिप्लेक्समा फिल्मले जम्मा १–१ शोज पाएको छ ।
शनिबार बिदाको दिनमा पनि फिल्म हेर्नका लागि दर्शकले कुनै उत्साह देखाएनन् । कमजोर प्रचार सामाग्रीका कारण सुरुवातदेखि नै दर्शकको रुचीमा नपरेको यो फिल्मले शनिबार पनि दर्शक तान्न सकेन ।
शनिबारको दिन भरिभराउ हुने हलहरु सुनसान देखिए । कतिपय शोजहरु दर्शक नभएका कारण स्थगित भएका थिए ।
फिल्मले समीक्षागत रुपमा पनि निकै कमजोर प्रतिक्रिया पाएको छ । फिल्म हेरेका अधिकांशले यसको कथावस्तुलाई रुचाएनन् । अर्कोतिर, फिल्मबाट नव–नायक निश्चल खड्काले राम्रै तारिफ पाउँदा अरु विषयमा फिल्म कमजोर देखिएको छ ।
लण्डनदेखि पेरिससम्मको दृश्यलाई मेकरले निकै फितलो तरिकाले खिचेका छन् । लण्डनका दृश्यमा कुनै व्यक्तिले फेसबुकको स्टोरी खिचेको जसरी फिल्म खिचिएको छ । पेरिसका दृश्यमा गरिएको हेलचक्राइले फिल्मलाई अझै कमजोर बनाइदिएको छ ।
फिल्म ‘हात्तीछाप’मा चिप्लिएका लेखक प्रदीप भारद्वाजको कथा यसपटक पनि दर्शकले रुचाएनन् । जसकाकारण, प्रदीपले फिल्म लेखनमा गम्भीर भएर सोच्नुपर्ने देखिएको छ ।
बक्स अफिसमा निरन्तर असफल फिल्म दिइरहेका निर्देशक घनश्याम लामिछाने यसपटक पनि कमजोर देखिएका छन् ।
यसपटक पनि एबी प्रोडक्शनले फिल्म बनाउनका लागि बनाए जस्तै भएको छ । ‘पासवर्ड, सम्हालिन्छ कहिले मन पछि लण्डन टू पेरिस’बाट एबी प्रोडक्शन कमजोर ब्यानर बन्न पुगेको छ ।
प्रतिक्रिया