चलचित्र आयोग र चलचित्र विकास बैंक स्थापनाको प्रस्ताव

स्वतन्त्र फिल्म मेकरहरुको चलचित्र सभाले नेपाली फिल्म क्षेत्रको वर्तमान समस्या र समाधानका उपायसहितको घोषणापत्र सार्वजनिक गरेको छ । स्वतन्त्र फिल्म मेकरहरुको भेला शनिबार काठमाडौंमा आयोजना गरिएको थियो । 

उक्त सभामा शक्तिशाली चलचित्र आयोग गठनका लागि प्रस्ताव समेत गरिएको छ । यस्तै, चलचित्र विकास बैंंकको स्थापनाको प्रस्ताव समेत सभाले अगाडि सारेको छ । 

आयोग गठनका लागि सरकारलाई दबाब दिने निर्णय समेत सभाले गरेको छ । जसका लागि, फिल्मीकर्मी दीपेन्द्र गौचनको नेतृत्वमा कार्यदल गठन गरेर दबाब दिने निर्णय समेत भएको छ । 

यो सभाले चलचित्र विकास बोर्डलाई आयोगका रुपमा रुपान्तरण गर्नुपर्ने प्रस्ताव पनि अगाडि सारेको छ । यदि, आयोग गठन गर्न सकियो भने नेपाली फिल्मका समस्याहरूलाई संरचनागत रुपमै समाधान गर्न सकिने ठहर भेलाको छ । 

यस्तै, सभाले फिल्ममा लाग्ने कर छुटको व्यवस्था गर्नुपर्ने, काठमाडौं महानगरले राष्ट्रिय सभा गृहलाई फिल्म सेन्टरको रुपमा विकास गर्नुपर्ने, विद्यालयदेखि कलेजको पाठ्यक्रममा फिल्म शिक्षालाई अनिवार्य समावेश गर्नुपर्ने, सिंगल थिएटरलाई अनुदान दिएर भएपनि मल्टिप्लेक्सको अवधारणामा ल्याउनुपर्ने माग समेत अगाडि सारिएको छ । 

निर्देशक मनोज पण्डितको अगुवाइमा भएको भेलामा फिल्मीकर्मीहरु नीर शाह, नरेन्द्र महर्जन, जनकदिप पराजुली, दीपेन्द्र गौचन, रवीन्द्रसिंह बानियाँ, प्रदीप भट्टराई, संझना रौनियार, उषा रजक लगायत सहभागी थिए । 

सभाले गरेको निर्णयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संचार मन्त्रालय, चलचित्र विकास बोर्ड र फिल्म सम्बन्धी संघसंस्थामा बुझाउने निर्णय समेत गरिएको छ ।